पाँचथर जिप दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ६ जना घाइते

शनिबार, १८ असोज २०८२

पाँचथर । तमोर करिडोर सडकखण्डअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार बिहान भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।

दुर्घटनामा घाइते भएकामध्ये एक ८ वर्षीय बालक, एक महिला र ४ जना पुरुष रहेका छन्। उनीहरुलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

घटनामा ज्यान गुमाएका ६ जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याउने तयारी भइरहेको छ। जिपमा १२ जना सवार रहेको प्रारम्भिक जानकारीका आधारमा हराइरहेका अन्यको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।

ताप्लेजुङको साँवाबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप कात्तिके भीर नजिकैबाट करिब ३ सय मिटर तल खसेको थियो। दुर्घटनामा परेकामध्ये अधिकांश ताप्लेजुङका नागरिक भएको अनुमान गरिएको छ।

प्रहरी र स्थानीयवासीको सहयोगमा थप उद्धार कार्य जारी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार