बाढी पहिरो प्रभावित जिल्लामा धमाधम राहत सामग्री पठाउँदै कोशी प्रदेश सरकार

बुधबार, २२ असोज २०८२

विराटनगर। कोशी प्रदेश सरकारले हालैको अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित जिल्लाहरूमा धमाधम राहत सामग्री पठाउन सुरु गरेको छ। प्रदेश सरकारले विभिन्न माध्यममार्फत राहत सामग्री पीडितसम्म पु-याउने कामलाई तीव्रता दिएको हो।

हिजो हेलिकप्टर र अन्य सवारी साधन प्रयोग गरी राहत सामग्री पठाइसकेको प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री इलाम, माईजोगमाई, माई नगरपालिका र झापाका विभिन्न गाउँपालिकातर्फ पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारसँग मौज्दात रहेका सबै राहत सामग्रीहरू तीव्र गतिमा प्रभावित क्षेत्रमा पठाइँदै छन्।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार राहत कार्यलाई द्रुतगतिमा अघि बढाइरहेको बताए। उनले भने, “सरकारले मृतकका परिवारलाई रकम सहयोग र अत्यावश्यक सामग्री वितरणको कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर अघि बढाउनेछ।”

मुख्यमन्त्री कार्कीले राहत कार्यसँगै भत्किएका सडक र अन्य भौतिक संरचनाहरू पुनर्निर्माणका लागि आवश्यक तयारी पनि सुरु गरिएको बताए। उनका अनुसार प्रदेशका मन्त्रीहरू समेत आ–आफ्ना क्षेत्रका फिल्डमा गएर राहत, पुनर्निर्माण र उद्धार कार्यमा सक्रिय रुपमा जुटेका छन्।

प्रदेश सरकारले प्रभावित परिवारको तत्काल आवास, खाद्यान्न, लत्ताकपडा र औषधोपचारका आवश्यकता पूरा गर्न स्थानीय तहहरूसँग सहकार्य गरी राहत सामग्री वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

WhatsApp Image 2025-10-08 at 11.17.13 AM (1)WhatsApp Image 2025-10-08 at 11.17.12 AM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार