काठमाडौँ : २२ वर्षकै उमेरमा कोही व्यक्ति अरबपति बन्न सक्छ भन्ने कुरा सुन्दा अविश्वसनीय लाग्न सक्छ । तर यही असम्भवजस्तो लाग्ने कार्य तीन युवाले सम्भव बनाएर विश्वलाई चकित पारेका छन् ।
भारतसँग सम्बन्धित आदर्श हिरेमठ र सूर्य मिधा तथा तिनका अमेरिकी साथी ब्रेन्डन फुडी अहिले विश्वका सबैभन्दा कान्छा ‘सेल्फ–मेड’ (आफैँ कमाएर बनेका) अरबपति बनेका छन् ।
यी तीनै जनाले सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जकरबर्गको रेकर्ड तोडेका हुन् ।
जकरबर्ग २३ वर्षको उमेरमा पहिलो पटक अरबपति बनेका थिए । सन् २००८ मा उनी १.५ अर्ब अमेरिकी डलर नेटवर्थसहित फोर्ब्स विश्वको सबैभन्दा कान्छा ‘सेल्फ–मेड बिलिनियर’को रूपमा सूचीकृत भएका थिए । तर अब यो कीर्तिमान २२ वर्षीय यी तीन युवाले तोडेका छन् ।
यी युवाहरूले सान फ्रान्सिस्कोस्थित कृत्रिम बौद्धिकता (AI) रिक्रुटिङ कम्पनी Mercor स्थापना गरेका हुन् । कम्पनीले हालसालै १० अर्ब अमेरिकी डलर मूल्याङ्कनका आधारमा ३५० मिलियन डलर लगानी सङ्कलन गरेको छ ।
प्रत्येक संस्थापकको कम्पनीमा करिब २२ प्रतिशत शेयर रहेकोले तिनको व्यक्तिगत सम्पत्ति करिब २ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ ।
Mercor का प्रमुख कार्यकारी फुडीका अनुसार सो लगानी राउन्डको नेतृत्व अमेरिकी लगानी कम्पनी Felicis Ventures ले गरेको हो । यससँगै कम्पनीको मूल्याङ्कन गत फेब्रुअरीको तुलनामा पाँच गुणा बढेको छ ।
दिल्ली र कर्नाटकका दुई भारतीय मूलका युवा—कर्नाटक निवासी आदर्श हिरेमठ Mercor का प्रविधि प्रमुख (CTO) र दिल्ली मूलका सूर्य मिधा कम्पनीका अध्यक्ष (Chairman) हुन् ।
तिनले आफ्नो उद्यमशील यात्राको सुरुआत क्यालिफोर्नियाको San Jose स्थित Bellarmine College Preparatory बाट गरेका थिए ।
हाईस्कूलपछि फुडीले Georgetown University बाट अर्थशास्त्रमा, हिरेमठले Harvard University बाट कम्प्युटर साइन्समा, र मिधाले पनि Georgetown बाट Foreign Service मा अध्ययन सम्पन्न गरेका थिए ।
सन् २०२३ मा सिलिकन भ्यालीमा सुरु गरिएको Mercor ले कृत्रिम बौद्धिकता (AI) प्रयोग गरी विशेषज्ञहरूलाई ‘Foundational AI Models’ निर्माण र प्रशिक्षणका लागि विभिन्न संस्थाहरूसँग जोड्ने काम गर्छ ।
गत फेब्रुअरीमा कम्पनीले Felicis Ventures को नेतृत्वमा १०० मिलियन डलर पाएको थियो । त्यतिबेला मूल्याङ्कन २ अर्ब डलर रहेको Mercor को मूल्य हाल आठ महिनामै बढेर १० अर्ब डलर पुगेको छ ।
यससँगै आदर्श हिरेमठ, सूर्य मिधा र ब्रेन्डन फुडी विश्वका सबैभन्दा कान्छा ‘सेल्फ–मेड अरबपति’का रूपमा स्थापित भएका छन् ।
प्रतिक्रिया