सामूहिक देउसी खेलेको एमाले बिर्तामोडले आय–व्यय सार्वजनिक गर्‍यो, १ लाख ४७ हजार बचत

मंगलबार, १८ कार्तिक २०८२

झापा : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले गत कात्तिक ५ गते अतिथि सदनमा आयोजना गरेको सामूहिक देउसी भैलो कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरेको छ।

शुक्रबार अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न विशेष कार्यक्रममा कुल आम्दानी २ लाख १ हजार २७० रुपैयाँ र खर्च ५४ हजार १३० रुपैयाँ भएको जानकारी दिइयो। बाँकी १ लाख ४७ हजार १४० रुपैयाँ बचत रकम पार्टीका आगामी कार्यक्रम, कार्यालय बहाल र आवश्यकता अनुसार प्रयोग गर्ने तयारी गरिएको नगर कमिटीले जनाएको छ।

अध्यक्ष भट्टराईले देउसी कार्यक्रममा सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै आर्थिक पारदर्शिता नै जिम्मेवार राजनीति र विश्वासको आधार भएको बताए। “हाम्रो उद्देश्य केवल सांस्कृतिक कार्यक्रम होइन, पारदर्शिता र साझेदारीको संस्कृतिलाई संस्थागत गर्नु हो,” उनले भने।

कार्यक्रममा देउसी भैलो सफल बनाउन सहयोग गर्ने नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर समिति र राष्ट्रिय जनसांस्कृतिक महासंघ बिर्तामोड नगर समितिलाई प्रशंसापत्र प्रदान गरिएको थियो। यस्तै, कार्यक्रममा शान्ति र सुरक्षामा सहयोग गर्ने युवासमूहहरूलाई पनि खादा ओढाई सम्मान गरिएको थियो।

कार्यक्रम सञ्चालन सचिव अम्बिका लिङ्देनले गरेकी थिइन्। कार्यक्रममा एमाले केन्द्रीय सदस्य अमृतलाल राजवंशी, सल्लाहकार परिषद् सदस्य हरिचरण सिवाकोटी, व्यवसायी महासंघ झापा अध्यक्ष पर्वत कार्की, तथा जनसांस्कृतिक महासंघ झापा अध्यक्ष डा. कुमार सुवेदीलगायतले मन्तव्य दिएका थिए।

वक्ताहरूले देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रमले सहकार्य, एकता र पारदर्शिताको संस्कृति बलियो बनाउने उल्लेख गर्दै यस्ता सामूहिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार