इटहरी : जेन्जी आन्दोलनका कारण इटहरी उपमहानगरपालिकाले भोग्नुपरेको ठूलो क्षतिपछि नगरका प्रेस संयोजक धनबहादुर पुरीले पदबाट राजीनामा दिएका छन्।
इटहरी उपमहानगरपालिकामा प्रेस संयोजकका रूपमा जिम्मेवारी वहन गर्दै आएका उनले आइतबार नगर प्रमुखलाई राजीनामा पत्र बुझाउँदै पछिल्लो घटनाबाट उपमहानगरको संरचना र सेवाप्रवाहमा परेको गम्भीर असरका बिच नगरपालिकामाथि आर्थिक बोझ नबढोस् भन्ने भावनाले पद त्यागिएको स्पष्ट पारेका छन्।
उनका अनुसार आन्दोलनका क्रममा उपमहानगरको कार्यालय भवन पूर्णरूपमा नष्ट भएको, सबै अभिलेख जलेर नष्ट भएको र सेवाका लागि प्रयोग हुने सवारीसाधन समेत जलेर नोक्सान पुगेको स्थितिमा करोडौँ रुपैयाँ बराबरको क्षति भोगेको नगरलाई अहिले पुनः उठाउने चुनौती गम्भीर रूपमा रहेको छ।
“यस्तो कठिन समयमा नगरको आर्थिक भार हलुका बनाउन र आफ्नो नैतिक दायित्व निर्वाह गर्ने उद्देश्यले म पदबाट अलग भएको छु,” राजीनामा पत्रमा उल्लेख छ।
उनले प्रेस संयोजकका रूपमा काम गर्ने मौका पाएकोमा नगर र नगरवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नगर र जनताको हितमा निरन्तर योगदान रहने प्रतिबद्धता जनाएका छन्।
तीन वर्षअघि (२०७९ असोज ३१ गते) नगरप्रमुख पौडेलकै हातबाट प्रेस संयोजकमा नियुक्ति पाएका पुरीले यो अवधिमा नगरको सञ्चार र प्रचारमा उल्लेखनीय योगदान दिएका थिए।

प्रतिक्रिया