काठमाडौँ : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूबिच ध्रुवीकरण तीव्र बन्दै गएको छ । नयाँ तथा विगतमा कम जनमत पाएका दलहरू एकीकरणको प्रक्रियामा जुटिरहेका छन् भने पुराना दलहरूबिच पनि चुनावी तालमेलबारे आन्तरिक छलफल सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि ‘प्रधानमन्त्री हुने’ सहमति गर्दै आफ्नो समूह रास्वपामा विलय गराएका छन् ।
जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा ऊर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्रालयको कमान्ड सम्हालिरहेका मन्त्री कुलमान घिसिङले पनि आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामै विलय गराएका छन् ।
नयाँ पार्टी तथा समूहहरूलाई समेट्दै रास्वपा शक्तिशाली बन्दै गएको सन्देश दिएपछि विघटित प्रतिनिधिसभामा रहेका तीन ठुला दल पनि चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बिच छुट्टाछुट्टै रूपमा चुनावी तालमेलबारे छलफल भइरहेको छ । एमालेले काँग्रेस र नेकपा दुवैसँग समानान्तर छलफल थालेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष भेटेर चुनावी तालमेलबारे छलफल गरिसकेका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले काँग्रेस र एमालेबीच ५०–५० सिट बाँडफाँट गरेर चुनावी तालमेल गर्न सकिने अभिव्यक्ति समेत दिएका छन् ।
काँग्रेस र एमालेबीच चुनावी तालमेलमार्फत नयाँ र शक्तिशाली रूपमा उदाएको रास्वपालाई परास्त गर्ने रणनीति बनिरहेको बुझिन्छ । उता, एमाले र नेकपाबीच पनि चुनावी तालमेलबारे छलफल भइरहेको छ ।
एमाले र नेकपाबीच चुनावी तालमेल गर्ने विषय सार्वजनिक रूपमा स्वीकार नगरिए पनि दुवै पक्षले यसलाई अस्वीकार भने गरेका छैनन् । एमाले अध्यक्ष ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच चुनावी तालमेलबारे दुई पटक छलफल भइसकेको स्रोतको दाबी छ । २१ फागुनको निर्वाचनमा मोर्चाबन्दीदेखि चुनावपछिको पार्टी एकतासम्मका विकल्पमा छलफल चलिरहेको निकट नेताहरू बताउँछन् ।
ओली र प्रचण्डबीच भएको पछिल्लो भेटमा पनि यस विषयमा छलफल भएको बताइएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति ६ माघअघि नै मोर्चाबन्दीको निर्णय हुन सक्ने सङ्केत गरिएको छ ।
‘४ वा ५ माघमा दुई दलबीच समझदारी भयो भने अचम्म मान्नुपर्ने छैन,’ एमालेका एक पदाधिकारीले राजधानीलाई भने । नेकपा संयोजक प्रचण्डले आफूहरूले १६ दल तथा समूहबीच एकीकरण गरिसकेको र छिट्टै ‘केही ठुला दलसँग पनि एकता हुन सक्ने’ अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको भनाइले नेकपाको काँग्रेस वा एमालेसँग चुनावी तालमेल हुन सक्ने सङ्केत दिएको छ । यद्यपि, चुनावी तालमेलबारे पुराना दलका शीर्ष नेताहरूले स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।
यसैबीच, साना, नयाँ तथा जेन–जी सहभागितामा खुलेका केही दलहरूबिच तेस्रो गठबन्धन निर्माणका लागि पनि छलफल भइरहेको छ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहको नेतृत्वमा तेस्रो गठबन्धन निर्माणका लागि कार्यदल गठन गरेर छलफल अघि बढाइएको छ ।
त्यस्तै, पत्रकार ऋषि धमलाको संयोजनमा २३ नयाँ दललाई समेट्दै तेस्रो गठबन्धन निर्माणका लागि कार्यदलमार्फत संवाद भइरहेको छ ।
रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङलाई खुला रूपमा चुनौती दिँदै आएका हर्क साम्पाङ राईले पनि तेस्रो गठबन्धन निर्माण गरेर अघि बढ्नुपर्ने धारणा आफूनिकटका नेतासँग व्यक्त गर्दै आएका छन् ।
‘पुराना दल र नयाँ बनेका रवि–बालेन दुवैबाट अपेक्षित काम नभएको’ टिप्पणी गर्दै उनले तेस्रो विकल्पको आवश्यकता औँल्याएका छन् ।
प्रतिक्रिया