झापामा सरोज शर्माको हत्या : दुई जना पक्राउ, शव बिरिङ खोलामुनि

शनिबार, १५ कार्तिक २०८२

झापा : झापामा सरोज शर्माको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरू सोही वडाका सरोज शर्माको हत्या प्रकरणमा संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको हो।

शर्माको शव झापा गाउँपालिका र बारदशी गाउँपालिका बीच बग्ने बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शनिबार बिहान फेला परेको हो। केही दिनदेखि बेपत्ता रहेका शर्माको कार यसअघि चाराली जंगलमा जलेको अवस्थामा फेला परेको थियो।

शर्मा बेपत्ता भएको सूचना पाएपछि प्रहरीको खोजी टोली सक्रिय भएको थियो। प्रहरीले जलेको कार फेला पारेपछि थप खोजीका क्रममा बिरिङ खोलाको किनारमा दुर्गन्ध फैलिएको सूचना पाएका स्थानीयको सहयोगमा शव फेला पारेको हो।

हत्या आरोपमा पक्राउ परेका शाह दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले मुख्य आरोपी सुनिल शाहको घरमा तोडफोड गरेका छन्। हुलाकी राजमार्गअन्तर्गत बिरिङ पुलमुनि शव फेला परेपछि भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ।

शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ। घटनामा ४–५ जनाको संलग्नता रहेको पीडित पक्षका आफन्तले बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार