काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७९ को संसदीय निर्वाचन जितेका एमालेका निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले परित्याग गरेका छन् । उनले सामाजिक संजालमार्फत आफू पहिलेको पार्टीको कुनै जिम्मेवारीमा नरहने घोषणा गरेका हुन् ।
घिमिरेले एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने तयारी गरेको स्रोतले बतायो । विश्वस्त स्रोतका अनुसार घिमिरे रास्वपा प्रवेश गर्ने विषयमा अहिले गहन छलफल चलिरहेको छ । रास्वपाबाट उनलाई रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने तयारी भइरहेको छ ।
रुपन्देही षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल चुनाब लड्दै आइरहेका छन् । २०७९ को निर्वाचनमा भने पौडेलले निकै मुस्किलले जितेका थिए । रुपन्देही २ मा विष्णु पौडेलले २७ हजार १४८ मत ल्याएर जित्दा रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।
रुपन्देही ५ मा भने वासुदेव घिमिरेले ठूलो अन्तरले जितेका थिए । घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा कांग्रेसका भरत कुमार शाहले २७ हजार १२० मत ल्याएका थिए । घिमिरेले ९ हजारभन्दा धेरै मत अन्तरले चुनाब जितेका थिए । पहिल्यै रास्वपा बलियो भएको ठाउँमा एमालेका प्रभावशाली नेता रास्वपाबाट चुनाब लड्नुलाई एमालेको लागि ठूलो धक्का मानिएको छ ।
प्रतिक्रिया