विराटनगर । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा भारत अररियाका एक जना युवकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
विराटनगर–१४ मा रहेको देउराली होटल अगाडि भारतीय नम्बर प्लेटको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको बीआर ३८ एम ११७८ नम्बरको स्कुटर राति करिब १०ः३० बजेतिर सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा स्कुटर चालक भारतको अररिया जिल्लास्थित छोटी मस्जिदका २५ वर्षीय मोहमद राजाको मृत्यु भएको उनले बताए । न्यौपानेका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार सोही स्थानका २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए ।
घटनापछि तत्कालै उद्धार गरी उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मोहमद राजालाई मृत घोषणा गरेका थिए ।
घाइते मोहमद इमरानको कोशी अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा परेको स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ।
इन्स्पेक्टर कविन राईको नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया