धनुषा : सर्वसाधारणको नाममा वालेट आईडी बनाएर अनलाइनमार्फत ठगी गर्दै आएको गिरोहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ। प्रहरीले ठगीमा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूले विभिन्न व्यक्तिको नाममा खोलिएका वालेट आईडी प्रयोग गरी हालसम्म ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार गरेको खुलासा गरेको हो।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा ‘मामा भान्जा ट्रेडर्स (आईएमई)’ सञ्चालन गर्दै आएका विशाल भुजेल, सोही स्थानमा मोबाइल पसल सञ्चालन गर्ने ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधु राम, जनकपुरधाम शिव चोकमा डेरा गरी बस्ने २२ वर्षीय बलराम मण्डल, धनौजी–२ का २० वर्षीय रुपेश कुमार साह र १९ वर्षीय निक्की कुमार राम रहेका छन्।
प्रहरी अनुसन्धानअनुसार आईएमई सञ्चालक भुजेलले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले पठाउने रेमिट्यान्स रकम झिक्न आउने सेवाग्राहीको नागरिकता र फोटोको प्रतिलिपि संकलन गरी उनीहरूको नाममा वालेट आईडी खोल्ने गरेको खुलेको छ। त्यसैगरी मोबाइल पसल सञ्चालक मण्डलले सिम कार्ड निकाल्न आउने सेवाग्राहीलाई झुक्याएर अतिरिक्त सिम कार्ड निकाली वालेट आईडी बनाएर भुजेललाई उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गिरोहका मुख्य ठग मानिएका बलराम मण्डल, रुपेश कुमार साह र निक्की कुमार रामले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर लत्ताकपडा, फर्निचर, मोटरसाइकललगायतका सामग्रीको फोटो र भिडियो राखी आकर्षक विज्ञापन गर्ने गरेका थिए। ती विज्ञापनको प्रलोभनमा परेर सर्वसाधारणले पठाएको रकम वालेट आईडीमा जम्मा भएपछि उनीहरू सम्पर्कविहीन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमले जानकारी दिए।
यस ठगीमा पक्राउ परेका साधु रामले मोबाइल पसल सञ्चालक मण्डलबाट वालेट आईडी र त्यसमा प्रयोग हुने सिम कार्ड खरिद गरी आफ्नो मोबाइलमा लगइन गर्ने र सामाजिक सञ्जालमा पोस्ट भएका विज्ञापनमार्फत पीडितबाट रकम संकलन गर्ने गरेको खुलेको छ। प्राप्त रकममध्ये २५ देखि ३० प्रतिशत कमिसन राखी बाँकी रकम विज्ञापन पोस्ट गर्ने अन्य व्यक्तिलाई दिने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका १९ थान मोबाइल, ४ वटा ल्यापटप, एप्पल कम्पनीको एक थान आईप्याड, ठगीमा प्रयोग भएका २० वटा सिम कार्ड, सिम कार्डको सिरियल नम्बर मात्र देखिने ५५ वटा कभर तथा ३ वटा इन्टरनेट राउटर बरामद गरी नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूविरुद्ध हालसम्म ३ जनाले जाहेरी दिएका छन्। सो जाहेरीका आधारमा अनलाइन ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया