धरान : धरानमा भाँडा–बर्तन चोरी गर्दै गरेको अवस्थामा एक युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएका छन्।
धरान उपमहानगरपालिका–१५ चेम्जोङ पथमा गएराति करिब ३ बजे चोरीको प्रयास गर्दै गरेको अवस्थामा स्थानीयवासीले एक युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्।
पक्राउ पर्नेमा सोही वडाका २४ वर्षीय सबिन लिम्बू रहेका छन्। स्थानीयले उनलाई नियन्त्रणमा लिएर केही समय बिजुलीको पोलमा बाँधेर राखेपछि इलाका प्रहरी कार्यालय धरानमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा लिम्बू लागूऔषध सेवनकर्ता हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। लिम्बूसँग चोरीका केही सामग्री समेत बरामद भएको र उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिएका छन्।
प्रहरीले चेम्जोङ पथ क्षेत्रभित्र वा आसपासका ठाउँमा कसैको सामान हराएको भए तत्काल प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रतिक्रिया