निर्वाचन तयारीका लागि विराटनगरमा सुरक्षा गोष्ठी, फरार कैदी र हराएका हतियार प्रमुख चिन्ता

बुधबार, १६ पुस २०८२

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार विराटनगरमा आयोजना गरिएको छ।

गृह मन्त्रालय र कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त पहलमा सम्पन्न गोष्ठीमा प्रदेशका १४ वटै जिल्लाको समग्र सुरक्षा अवस्था, निर्वाचन तयारीको प्रगति, सम्भावित जोखिम र त्यसको न्यूनीकरणका उपायबारे छलफल गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार गोष्ठी पूर्ण रूपमा निर्वाचन केन्द्रित रहेको थियो।

गोष्ठीले जेलबाट फरार रहेका कैदीबन्दी तथा विगतमा प्रहरीबाट लुटिएका हतियारहरू आगामी निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौती बनेको निष्कर्ष निकालेको छ। ती विषयलाई प्राथमिकतामा राखी जिल्ला–जिल्लामा विशेष सुरक्षा अपरेसनलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याइएको छ।

जिल्लास्तरमा हालसम्म भएका सुरक्षा गतिविधि, सामना गरिएका चुनौती, प्रयोगमा ल्याइएका असल अभ्यास तथा आगामी दिनमा सर्वसाधारणलाई शान्ति–सुरक्षाको अनुभूति दिलाउने उपायबारे गहन समीक्षा भएको गृह प्रवक्ता काफ्लेले जानकारी दिए। उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएको बताए।

गोष्ठीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हालको सुरक्षा अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै ठूलो संख्यामा फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएको र लुटिएका हतियार फिर्ता नभएसम्म निष्पक्ष निर्वाचनमा चुनौती रहने धारणा राखेका थिए। मुख्यमन्त्री कार्कीले यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरूले फरार कैदीबन्दी पक्राउ र लुटिएका हतियार बरामद गर्न विशेष अभियान सञ्चालन भइरहेको जानकारी दिएका थिए। साथै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सीमा क्षेत्रका संवेदनशीलता, भौगोलिक विकटता, खुला सीमाबाट उत्पन्न हुन सक्ने जोखिम तथा निर्वाचनका समयमा देखा पर्न सक्ने चुनौतीबारे प्रस्तुति दिएका थिए।

कतिपय दुर्गम जिल्लामा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरको आवश्यकता पर्न सक्ने विषय पनि गोष्ठीमा उठेको छ। मौसम र परिस्थितिको मूल्याङ्कन गरेर आवश्यक परेमा हेलिकप्टर व्यवस्थापन गरिने गृह मन्त्रालयले जनाएको छ।

गोष्ठीमा सुरक्षा जनशक्ति परिचालन, संवेदनशील क्षेत्र पहिचान, सुरक्षा तैनाथीको ढाँचा, सूचनाको आदान–प्रदान तथा आकस्मिक अवस्थाको व्यवस्थापनसम्बन्धी कार्यविधिबारे समेत छलफल गरिएको थियो।

गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार