मैत्रीपूर्ण अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा इटहरीको डिभिएम सगरमाथा विजयी

बुधबार, १६ पुस २०८२

इटहरी । सुनसरीको इटहरीमा सम्पन्न मैत्रीपूर्ण अन्तरविद्यालय क्रिकेट खेलमा डिभिएम सगरमाथा विजयी भएको छ ।  डिभिएम स्कुलको खेल मैदानमा भएको फाइनल खेलमा  डिभिएम सगरमाथा जनता मावि इटहरीलाई १० रनले पराजित गरेको हो । 

टस जितेर पहिलो बलिङ गरेको जनता माविले गरेको थियो । विजयी डिभिएम सगरमाथाले निर्धारित १० ओभरमा २ गुमाउदै ७९ रन जोडेको थियो । डिभिएमका लागि रेवाज बोहोराले २३ बलमा अविजित २४ रन र आयुष पोखरेलले २१ बलमा अविजित २२ रनको योगदान गरेका थिए । त्यसैगरी गिरीश भट्टराईले ११ बलमा ८ रन बनाए थिए । 

जनताका बलर प्रविन मण्डलले २ ओभरमा १३ रन खर्चेर १ विकेट तथा अंकित दासले २ ओभरमा १७ रन दिएर १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको  जनता मावि  १० ओभरमा ६ विकेट गुमाउँदै ६९ रनमै सीमित हुन पुग्यो ।  जनताका लागि अहसान खानले २४ बलमा २३ रन, अंकित दासले १६ बलमा १८ रन र प्रविन मण्डलले १० बलमा १२ रन बनाए थिए ।

डिभिएमका दिवास बिष्टले २ ओभरमा ६ रन दिएर १ विकेट, आदित्य पौडेलले २ ओभरमा ८ रन खर्चेर १ विकेट तथा दिनेश बुढा मगरले २ ओभरमा १३ रन दिएर १ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन गरेका आदित्य पौडेल ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिमले सिल्ड, प्रमाणपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्न सफल भएको छ । विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा , आयोजक एभिएम स्कुलका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष धु्रवकुमार सुब्बाले पुरस्कार वितरण गरेका थिए । 

यही पौष ९ गतेबाट सुरु भएको प्रतियोगितामा सुनसरी र मोरगंका १९ वटा विद्यालयका टिमहरू सहभागी रहेका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार