तोकिएकै समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

शुक्रबार, १४ कार्तिक २०८२
File Photo

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१, २०८२ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छिन्। प्रधानमन्त्री कार्कीले शुक्रबार बालुवाटारमा वरिष्ठ पत्रकार तथा सम्पादकहरूसँगको भेट–अन्तर्क्रियामा यो जानकारी दिएकी हुन्।

प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा क्षति भएका सुरक्षा निकायका संरचनाहरू जनताको सक्रिय सहभागितामा पुनर्निर्माण भइरहेको र हालसम्म करिब ९० प्रतिशत संरचना तयार भइसकेको जानकारी दिएकी छिन्। उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न लत्ता–कपडा र अन्य सहयोग जारी रहेको पनि उल्लेख गरेकी छिन्।

उनले राजनीतिक दल र जेनजी समूहसँग अलग–अलग तथा एकीकृत रूपमा छलफल भइरहेको र दलहरू पनि निर्वाचनका लागि तयार हुँदै गएकाले अब निर्वाचनमा शंका नगर्न आग्रह गरेकी छिन्। साथै, विदेशी कूटनीतिक नियोग र दातृ निकायसँग निरन्तर संवाद भइरहेको जानकारी दिएकी छिन्।

भेटमा सहभागी पत्रकारहरूले चुनाव सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले कठोरता अपनाउनुपर्छ र चुनाव नभए देश अस्थिर हुन सक्ने सुझाव दिएका थिए।

भेट–अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि उपस्थित थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार