विपद्मा सहयोग गर्ने दातालाई ‘एकका लागि एक अभियान’ले सम्मान गर्ने

बुधबार, १६ पुस २०८२

बिर्तामोड : एकका लागि एक अभियान झापाले विपद्का बेला सहयोग गर्ने दाताहरूलाई सम्मान गर्ने भएको छ।

गत असोज १८ र १९ गते आएको बाढी, डुबान तथा पहिरोका कारण जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहयोग गर्ने दाताहरूलाई सम्मान गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए। यही पुस २० गते आइतबार बिर्तामोडमा आयोजना हुने विशेष समारोहका बीच दाताहरूलाई सम्मान गरिने उनले बताए।

कार्यक्रममा विपद्को समयमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल रेडक्रस सोसाइटी झापालाई समेत सम्मान गरिनेछ। बुधबार बिर्तामोडमा सम्पन्न अभियानको बैठकले सहयोग दातालाई सम्मान गर्ने तथा अभियानको आय–व्यय सार्वजनिक गर्ने निर्णय गरेको हो।

त्यस्तै, विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलाई विशेष सम्मान प्रदान गरिने जनाइएको छ। अधिकारी हाल काभ्रेपलान्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका छन्। सम्मान कार्यक्रम बिर्तामोडस्थित होटल हेभनमा आयोजना हुने बताइएको छ।

संयोजक गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेसहित अभियानका सदस्य लीला चिमरिया, कुमारमणि पोखरेल, सजेश शिवाकोटी, ओमकृष्ण विमली, शिव कँडेल, प्रशान्त भण्डारी, हेम खड्का, आशिष वन, मिजास पोखरेल, गजेन्द्रबहादुर पौडेल, जीवनकुमार खड्का, तीर्थराज सिग्देल, युवराज कुँवर, विपीन बजगाँई, मनोज बस्नेत, चन्द्रकान्त ढकाललगायतले विभिन्न सुझाव राखेका थिए। बैठकको सहजीकरण अभियानका सदस्य एकराज गिरीले गरेका थिए।

अभियानको समन्वयमा विपद्बाट पीडित झापाको झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका तथा इलामका गरी दुई हजारभन्दा बढी परिवारलाई खाद्यान्न तथा गैरखाद्यान्न सामग्रीसहित प्रतिपरिवार तीन हजार रुपैयाँभन्दा बढी मूल्यको राहत प्याकेज प्रदान गरिएको थियो। जिल्ला विपद् व्यवस्थापन समिति झापाको सहकार्यमा उक्त राहत प्याकेज जुटाई पीडित परिवारलाई हस्तान्तरण गरिएको अभियानले जनाएको छ।

एकका लागि एक अभियानको स्थापना कोभिड–१९ महामारीको समयमा ‘एक परिवारले अर्को परिवारलाई सहयोग गर्ने’ उद्देश्यका साथ २०७७ सालमा गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार