बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमाः भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव

शनिबार, १५ कार्तिक २०८२

बाजुरा । भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो ।

बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन् ।

यसै क्रममा बिहिवार बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटकी सिर्जना केसीले पनि बाटोमै सन्तान जन्माएकी छन् । सिर्जनाले घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै बच्चाको जन्म दिएकी हुन् ।

उनलाई सहज रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्था लैजादै गरे पनि स्वास्थ्य संस्था टाढा हुँदा उनले बाटोमै बच्चाको जन्म दिएकी हुन् । सिर्जनालाई बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई गरे पश्चात् लगत्तै सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्टले उद्दारका लागि गएकी हुन् । बिष्ट पुग्दासम्म सिर्जनाले बच्चा जन्माइसकेकी थिइन् ।

उनले सिर्जनाले बाटोमै बच्चा जन्माएपनि सालनालको व्यवस्थापन र चेकजाँचको लागि स्वास्थ्य चौकी लगेको बताईन् । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको विष्टले जानकारी दिएकी छन् ।

बुढीगंगामा मात्रै यो वर्ष सिर्जनासहित अन्य दुई जना आमाले बाटोमै बच्चा जन्माएकी छन् । यो एक उदाहरण मात्रै हो । बाजुरामा थुप्रै यस्ता घटनाहरु छन् । यहाँका ९ वटै स्थानीय तहका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेका छन् ।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुईदेखि तिनजना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने र मर्ने क्रम नरोकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमि, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमिलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ  । साथै सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार