विराटनगरमा मध्यराति मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु, एकजना घाइते

शुक्रबार, १८ पुस २०८२

इटहरी ।  विराटनगरमा मध्यराति मोटरसाइकल दुर्घटना हुदाँ ३० वर्षीय युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आज (शुक्रबार) राति करिब १२:५५ बजे विराटनगर महानगरपालिका–१५ स्थित ३ नं. ढाट नजिक भित्री सडक खण्डमा जोगबनीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ९५८७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएपछि इकाइ प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राई तथा इकाइ प्रहरी कार्यालय रानीबाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। 

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी घर भई हाल कटहरीस्थित रणकाली माता कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय अनोज चौधरी गम्भीर घाइते भएका थिए। 

उपचारका लागि उनलाई तत्काल कोशी अस्पताल विराटनगर पठाइएपनि चिकित्सकले राति १:२२ बजे मृत घोषणा गरेका थिए।

सोही मोटरसाइकलमा पछाडि सवार मोरङ कटहरी गाउँपालिका–५ बस्ने ३० वर्षीय धर्मेन्द्र सरदारको हातखुट्टामा चोट लागी सामान्य घाइते भएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 मृतक चौधरीको शव कोशी अस्पताल विराटनगरको शवगृहमा राखिएको छ भने उनका आफन्तलाई जानकारी गराइएको छ।

 मोटरसाइकल र पछाडि सवार सरदारलाई इकाइ प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार