सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलको कारवाहीका बीच गोली लागेको घटनामा एक स्थानीयको ज्यान गएको छ । बुधबार राति करिब सवा १ बजे भारतीय सीमा नजिकबाट सामान लिएर फर्कँदै गरेका विजय साहमाथि सिटी सफारीको चालकको सिटमा रहेका बेला उनीमाथि सशस्त्र प्रहरीले चलाएको गाेली छातीमा लागेकाे थियाे ।
गोली लागेर गम्भीर घाइते भएका ४५ वर्षीय साहको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। साहको घर घटनास्थल नजिकै पर्छ । उनी प्रायः भारतबाट सामान ल्याएर बिक्री गर्दै आएका थिए । घटनाका बेला उनले चलाएको सिटी सफारीमा करिब ६–७ बोरा चिनी, सरफ, चलकेटलगायतका सामग्री रहेको छ।
लेनदेनमा कुरा नमिल्दा गोली प्रहार भएको स्थानीयको दाबी छ । ‘ उनीहरुले पैसा मागेका थिए,मागेजति नदिने भएपछि गोली प्रहार भयो,’ आक्रोशित स्थानीय भन्छन्,‘ दोहोरो झडप भएको होइन, प्रहरीले दुई गोली हानेको छ ।’
यता सशस्त्र प्रहरी बल कोशी प्रदेशका (डीआईजी) कुमार न्यौपानेले भने घटनामा दोहोरो फायरिङ भएको दाबी गरेका छन् । ‘ सामान चोरी गरेर आए, हामीले रोक्न खोज्दा रोकिएन, अगाडि भागेको गाडीबाट फायर गर्याे, एपिएफले पनि फायर गर्याे,’ उनले भने,‘ तस्करको समूहले फायरिङ गरेको हो ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) चन्द्र खड्काले घटनास्थलबाट दुई राउण्ड गोलीको खोका फेला परेको जानकारी दिएका छन्। उनका अनुसार मृतकको शरीरमा दुई स्थानमा गोली लागेको जस्तो दाग देखिएको छ । “दोहोरो भिडन्त भयो–भएन भन्नेबारे अनुसन्धान जारी छ,” उनले भने, “हामीले दुई राउण्ड खोका मात्र भेटेका छौं, थप प्रमाण संकलन हुँदैछ।”
घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले साहले चलाएको सिटी सफारी र शव सडकमा राखेर निष्पक्ष छानबिन तथा घटनामा संलग्नमाथि तत्काल कारवाहीको माग राखेका छन्।
उनीहरुले मृतकले प्रयोग गरेको सिटी सफारी र शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया