काठमाडौं : नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको सचिवालय बैठक पार्टी मुख्यालय पेरिडाँडामा जारी छ। बैठकमा नेकपा ९एकीकृत समाजवादी०सँग सम्भावित पार्टी एकताबारे विस्तृत छलफल भइरहेको स्रोतले जनाएको छ।
एकीकृत समाजवादीले शुक्रबार मात्रै माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेपछि माओवादीले तत्काल सचिवालय बैठक बोलाएको हो।
माओवादी केन्द्रले यसअघि नै केन्द्रीय समितिको बैठकमार्फत कम्युनिस्ट पार्टीहरूबीच एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरिसकेको थियो। समाजवादी पक्षले औपचारिक निर्णय लिएपछि माओवादी सचिवालयले एकता प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा रणनीति तय गर्न लागेको बताइएको छ।
बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू सहभागी छन्। बैठकमा पार्टीको महाधिवेशन तयारी, आन्तरिक संगठन सुदृढीकरण र आगामी राजनीतिक कदमबारे पनि छलफल हुने बताइएको छ।
प्रतिक्रिया