झापा आएर राजेन्द्रले भने, 'देश दुर्घटनामा फस्यो, अब निकास राप्रपाबाट मात्र सम्भव'

शनिबार, १२ पुस २०८२

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर दुर्घटनाको मुखमा पुगेको दाबी गरेका छन् ।

झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिलेको राजनीतिक व्यवस्था र नेतृत्वले मुलुक जोगाउन नसक्ने बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले गत भदौ २३ र २४ गते घटेका घटनाले राज्य संयन्त्र कति असफल छ भन्ने स्पष्ट भएको उल्लेख गरे । सिंहदरबार, संसद् र सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख अङ्गमा आगजनी हुँदा पनि सरकारलाई समयमै जानकारी नहुनु र जोगाउन नसक्नु गम्भीर विषय भएको उनको भनाइ थियो ।

आन्दोलनकारी प्रधानमन्त्रीको ढोकासम्म आइपुग्दा पनि जानकारी राख्न नसक्ने अवस्थामा सरकार पुगेको भन्दै उनले यस्तो सरकारले जनतालाई कसरी सुरक्षा दिन सक्छ भन्ने प्रश्न गरे ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले लामो समय देश चलाएको दाबी गरे पनि परिणाम निराशाजनक भएको लिङ्देनको भनाइ थियो । माओवादी नामै लिन नसक्ने अवस्थामा पुगेपछि नाम परिवर्तन गर्न बाध्य भएको टिप्पणी गर्दै उनले ठूला दलहरूले देशलाई सही दिशामा लैजान नसकेको आरोप लगाए ।

देश दुर्घटनामा जान सक्ने चेतावनी पहिले नै दिइएको भए पनि बेवास्ता गरिएको उल्लेख गर्दै अहिले आएर त्यसको परिणाम सबैले भोगिरहेको अध्यक्ष लिङ्देनको भनाई छ । 

विदेशी शक्तिको प्रभाव बढ्दै गएको, मन्त्री र प्रधानमन्त्रीको सिफारिससमेत बाहिरबाट हुने अवस्था सिर्जना भएको आरोप लगाउँदै उनले भ्रष्टाचार  मुलुकको सबैभन्दा ठूलो समस्या रहेको बताए । 

उनले  निर्वाचन प्रणाली नै भ्रष्ट बनेको भन्दै भोट किनेर जित्नुपर्ने अवस्था आएको उनको तर्क छ । भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार र अदालतजस्ता निकायसमेत राजनीतिक नियुक्तिका कारण निष्प्रभावी बनेको आरोप लगाउँदै उनले त्यसकै कारण चुनाव खर्चिलो, महँगो र सुशासन कमजोर बनेको बताए ।

राप्रपाले वैकल्पिक मार्ग प्रस्तुत गरेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले राजासहितको अभिभावकीय संस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी र स्थानीय तह पूर्ण रूपमा निर्दलीय हुनुपर्ने धारणा राखे । नेता मात्र होइन, अब व्यवस्था नै फेर्नुपर्ने उनको भनाई थियो ।

ऊर्जा, कृषि, पर्यटन र वैदेशिक रोजगारीमा रहेका नेपालीको सिप र पूँजी सही रूपमा उपयोग गर्न सके पाँच वर्षमै देश बनाउन सकिने दाबी गर्दै उनले विदेशमा अरू देश बनाउने नेपाली आफ्नै देश किन बनाउन नसक्ने भन्ने प्रश्न गरे ।

झापाले विगतमा राप्रपालाई जोगाएर उठाएको स्मरण गराउँदै उनले देश जोगाउने जिम्मेवारीका लागि फेरि एकपटक राप्रपालाई मौका दिन आग्रह गरे । हल्दिवारी गाउँपालिकामा राप्रपाको नेतृत्वमा शिक्षा निःशुल्क, खानेपानी सुविधा र पूर्वाधार विकास भएको उदाहरण समेत उनले प्रस्तुत गरे ।

राप्रपा जिल्ला अध्यक्ष केशव ओझाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वले समेत सम्बोधन गरेका थिए । 

सभालाई सम्बोधन गर्दै पार्टीका प्रवत्ता ज्ञानेन्द्रबहादुर साहीले भ्रष्टाचारले सीमा नाघेर अत्याचारको रूप लिँदा युवाहरू विदेश पलायन हुन बाध्य भएको बताए ।

जेन–जी आन्दोलन भ्रष्टाचार र अत्याचारविरुद्ध सुरु भएको उल्लेख गर्दै साहीले व्यवस्था परिवर्तन नगरी सुशासन सम्भव नहुने बताए । वर्तमान संविधानका केही धाराहरू संशोधन नगरी देशको अवस्था परिवर्तन हुन नसक्ने उनको भनाइ थियो ।

पार्टीका संसदीय दलका प्रमुख सचेतक समेत रहेका साहीले प्रदेश संरचनालाई राज्यको ढुकुटी सिध्याउने माध्यमको संज्ञा दिँदै उनले त्यसलाई खारेज गर्नुपर्ने बताए । प्रदेश संरचना हटाइए वार्षिक चार खर्ब रुपैयाँ बचत हुन सक्ने दाबी गर्दै आगामी निर्वाचनलाई त्यसैको जनमतका रूपमा लिनुपर्ने उल्लेख गरे ।

पार्टीकी केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग उपप्रमुख खुस्वु ओलीले जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकार ७६ जना युवाको रगतमा उभिएको आरोप लगाइन् । अहिलेको सत्ता रगतमा लत्पतिएको दाबी गर्दै उनले राज्य ज्यान गुमाएका युवाप्रति गम्भीर नदेखिएको टिप्पणी गरिन् ।

झापा जिल्लालाई ‘लाल किल्ला’ भन्ने गरिएको भए पनि त्यो राजनीतिक चेतनाले नभई निर्दोष मानिसको हत्या गरेर बनाइएको आरोप लगाउँदै उनले २०२८ सालमा मारिएका ज्ञानेन्द्र ढकाललाई जेन–जी पुस्ताको पहिलो सहिद घोषणा गर्न सरकारसँग माग गरिन् ।

उनले आन्दोलनका क्रममा पार्टी कार्यालय जलाइएका घटनाप्रति विरोध भए पनि ज्यान गुमाएका युवाप्रति संवेदनशीलता नदेखिएको भन्दै आलोचना गरिन् । राप्रपा हिंसाको पक्षमा नरहेको स्पष्ट पार्दै उनले निर्दोषको रगत बगाएर बनेको सत्ता र व्यवस्थाले देशलाई निकास दिन नसक्ने दाबी गरिन् ।

पार्टीका कोशी प्रदेश सचिव कुमार भट्टराईले स्वागत गरेको कार्यक्रममा जेनजीका तर्फबाट रविकिरण हमाल, पार्टीका केन्द्रीय सदस्य उद्धव भेटुवाल, केन्द्रीय सहमहामन्त्री भारतेन्दु मल्लिक, पार्टीका केशी प्रदेश अध्यक्ष राम थापा, पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वुद्धिमान तामाङ लगायतले बोलेका थिए । 

राजु जंघ कन्दङ्वा, धर्मराज माझी, मनु थेवे, सहित २०० बढी विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए । पार्टीका जिल्ला सचिव कुमार थापाले कार्यक्रम सञ्चालन गरेका थिए । 

कार्यक्रममा, पार्टीका  महामन्त्री राजेन्द्र गुरुङ, कोशी प्रदेश सभा सदस्य सविना बजगाईलगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार