झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा आज बिहान भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार शिवसताक्षी–१० माईधार चौकस्थित पूर्व–पश्चिम सडकखण्डमा रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ आउँदै गरेको रात्रिबस (प्र.१–०१–००१ क ४२०९) अनियन्त्रित भई दुर्घटनामा परेको हो।
बस सडकबाट करिब १० मिटर तल बायाँतर्फ पल्टिँदा बसमा सवार २५ जनामध्ये १९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी अस्पताल पठाइएको छ। बसमा सवार अन्य ६ जना सामान्य रहेकाले घर फर्किएको प्रहरीले जनाएको छ।
बस दुर्घटनामा चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेलसहित घाइते भएका छन्। भुजेलको टाउकोमा चोट लागेको छ। त्यस्तै, रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा गाउँपालिका–३ की १७ वर्षीया इच्छा लिम्बू, मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, झापा कचनकवल–४ का २० वर्षीय रबीलाल गणेश र रामेछाप ठाडादेवी गाउँपालिका–३ की ६५ वर्षीया मिठु खत्री घाइते भएका छन्।
प्रहरीका अनुसार अन्य घाइतेहरूमा झापा कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सुमित्रा खड्का र उनको ९ वर्षीया छोरा एलोन कार्की, दोलखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीका ८ वर्षीय बालक अनु श्रेष्ठ, दोलखा तामाकोशी गाउँपालिका–३ का २८ वर्षीय कुमार बस्याल, झापा कचनकवल–६ का २७ वर्षीय भेमा राजवंशी, बिर्तामोड नगरपालिका–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका ९ वर्षीय छोरा रिदम श्रेष्ठ, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही ठाउँकी १८ वर्षीया शीतल नेपाली, झापा बाह्रदशी गाउँपालिका–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु रहेका छन्।
प्रतिक्रिया