काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वदेखि आयोगसम्मका सबै पदमा प्यानल प्रतिस्पर्धा हुने निश्चित भएको छ । भावी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
१९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ओली र पोखरेल दुवैले प्यानलसहित आगामी नेतृत्वका लागि मैदानमा उत्रिएका छन् ।
सोमबार उम्मेदवारी दर्ता भएको छ । आज (मङ्गलवार) मतदानबाट नेतृत्व चयन हुँदैछ । १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार प्रारम्भिक नामावलीअनुसार अध्यक्षमा ईश्वर पोखरेल र केपी शर्मा ओली प्रतिस्पर्धामा छन् ।
अध्यक्षका प्रतिस्पर्धी ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल र पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । ओली समूहबाट उपाध्यक्षका लागि प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता नगरेपछि एक उपाध्यक्ष पद उक्त समूहबाट खाली भएको छ ।
महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा. राजन भट्टराई, हिकमतकुमार कार्की, शेरधन राई, महेश बस्नेत र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् ।
ओली समूहबाट केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा काशीनाथ अधिकारी र लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेलले उम्मेदवारी दिएका छन् ।
पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टङ्क कार्कीले उम्मेदवारी दिएका छन् । भीम आचार्यले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीले उम्मेदवारी दिएका छन् ।
सचिवमा कर्ण थापा, रचना खड्का, गोकुल बाँस्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । दुवै समूहबाट सचिवका लागि १८ जना उम्मेदवार हुनुपर्नेमा २० जनाको उम्मेदवारी परेको छ ।
असन्तुष्टले छाडे ओलीको साथ
११औँ महाधिवेशनको चुनावी कार्यक्रम चलिरहेकै बेला अध्यक्षका प्रतिस्पर्धी ओलीको साथ छोड्ने नेताहरू बढ्दै गएका छन् । विगतमा ओलीलाई दह्रो साथ र सहयोग गर्दै आएका नेताहरूले खोजेजस्तै र रोजेजस्तै पदमा उम्मेदवारी दिन नपाएपछि ओलीसँग असन्तुष्टि व्यक्त गर्दै साथ छोडेका छन् ।
ओलीको साथ छोडेपछि नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा अध्यक्षका अर्का प्रतिस्पर्धी पोखरेललाई फाइदा हुने देखिन्छ । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका पोखरेल सुरुमा कमजोर जस्तो देखिए पनि यी नेताहरूले ओलीको साथ छोडेपछि झनझन बलियो बन्दै जाँदा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
विगतमा ओली समूहमा रहेर पार्टी एवं राजकीय भूमिकामा महत्त्वपूर्ण जिम्मेवारी पाएका प्रदीप ज्ञवाली, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, लालबाबु पण्डित, राजेन्द्र गौतम, अग्नि खरेल, लीला गिरी, कृष्ण राई, नवराज सिलवाललगायत नेताहरूले ओलीको साथ छोडेका छन् ।
पार्टीको १०औँ महाधिवेशनमा उपमहासचिव बनेका ज्ञवालीले यसपटक महासचिवमा प्रतिस्पर्धा गर्न चाहेका थिए । ज्ञवालीलाई अध्यक्ष ओलीले उपाध्यक्षको उम्मेदवार बनाउन खोजेपछि उनले पदाधिकारीको कुनै पनि पदमा उम्मेदवारी नदिई ओली गुटको बैठकबाट रुँदै बाहिरिएको बताइएको छ । ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । ज्ञवाली ओलीका विश्वासपात्र नेता हुन् ।
ओली समूहको बैठकमा ज्ञवालीले एउटै व्यक्तिलाई दोहोर्याएर एउटै पदमा जिम्मेवारी दिने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका थिए । तर ओली आफैँ तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्दै गर्दा उनले त्यसबारे बोल्ने आँट नगरेको टिप्पणी गरिएको छ । आफूले विगतजस्तै रोजेकै र खोजेकै पदमा उम्मेदवारी दिन नपाउँदा ज्ञवाली ओलीबाट असन्तुष्ट भएका हुन् ।
‘म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता भएँ । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुनुपर्छ । एउटै व्यक्तिलाई दोहोर्याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ,’ ज्ञवालीले भनेका छन् ।
यसैगरी, यसअघि आफ्नै क्याबिनेटमा शिक्षामन्त्री बनेका पन्तले पनि ओलीको साथ छोडेका छन् । पदाधिकारीमा ओलीले नसमेटेपछि पन्तले पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, ओलीको प्यानलबाट सचिव उम्मेदवारका आकाङ्क्षी रहेका गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीलाई ‘फुटबलको प्लेयर’सँग तुलना गरेर चर्चामा आएका श्रेष्ठले पनि ओलीको साथ छोडेका छन् । श्रेष्ठले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् ।
यसैगरी, यसअघि ओलीका विश्वासपात्र मानिएका बाँस्कोटा पनि ओलीबाट असन्तुष्ट देखिएका छन् । यद्यपि बाँस्कोटाले केही समयअघिदेखि नै ओलीको साथ छोडेको सङ्केत गरिसकेका थिए । बाँस्कोटाले केही समयदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्दै आएका थिए । बाँस्कोटाले पोखरेल समूहबाट सचिवमा प्रतिस्पर्धा गर्दै छन् ।
महाधिवेशनमा ओली समूहबाट अनुशासन आयोग उपाध्यक्षमा प्रस्तावित नेता गिरीले उक्त प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ‘मेरो नाम अनुशासन आयोगको उपाध्यक्षमा आएको देखेँ, तर त्यसमा मेरो सहमति थिएन र छैन । म खुला क्षेत्रबाट केन्द्रीय कमिटीको उम्मेदवार हुँ,’ गिरीले भने । गिरी यसअघि पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री भइसकेका छन् ।
पदाधिकारी आकाङ्क्षीमा नयाँ अनुहार
एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरूमध्ये ओली समूहबाट केही नयाँ अनुहारले पदाधिकारीमा उम्मेदवारी दिने अवसर पाएका छन् ।
ओली समूहबाट सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा. राजन भट्टराई, हिकमतकुमार कार्की, शेरधन राई, भानुभक्त ढकाल र महेश बस्नेतले उम्मेदवारी दिएका छन् । स्थायी कमिटी र पोलिटब्युरो कमिटीमा रहेका यी नेता ओली समूहबाट पदाधिकारीमा उम्मेदवारी दिने नयाँ अनुहार हुन् ।
यसैगरी पोखरेल समूहबाट पनि केही नयाँ अनुहारका नेताले पदाधिकारी बन्ने अवसर पाएका छन् । विगतमा स्थायी कमिटी, पोलिटब्युरोलगायत कमिटीमा रहेर काम गरे पनि पदाधिकारीका रूपमा यी नेता नयाँ हुन् ।
पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टङ्क कार्की पदाधिकारीका लागि नयाँ हुन् । उपमहासचिवमा उम्मेदवारी दिएका आनन्द पोखरेल र बैजनाथ चौधरी तथा सचिवमा उम्मेदवारी दिएका कर्ण थापा, गोकुल बाँस्कोटा, पुरुषोत्तम पौडेल, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्का पनि पदाधिकारीका लागि नयाँ अनुहार हुन् । पोखरेल समूहबाट पदाधिकारीमा अधिकांश उम्मेदवार नयाँ छन् ।
८० वटा विद्युतीय मेसिनबाट मतदान
एमालेमा नेतृत्व चयनका लागि ८० वटा विद्युतीय मेसिनको प्रयोग गरिँदै छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार १ सय विद्युतीय मेसिन ल्याइए पनि ८० वटाको मात्र प्रयोग हुनेछ । यसअघि १०औँ महाधिवेशनमा पनि एमालेले नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग गरेको थियो ।
महाधिवेशनमा २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् । एक प्रतिनिधि (एक मतदाता) लाई ३० देखि ४० मिनेटसम्म मतदान गर्न समय लाग्नेछ । सोमबार उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको महाधिवेशनमा मङ्गलवार अपराह्न १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।
यस्तो छ शुल्क
एमाले ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टी निर्वाचन आयोगले विभिन्न पदका उम्मेदवारका लागि शुल्क निर्धारण गरेको छ । अध्यक्षका लागि प्रति उम्मेदवारी शुल्क १५ हजार रुपैयाँ तोकिएको छ ।
केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन १० हजार रुपैयाँ र केन्द्रीय सदस्यको उम्मेदवार हुन पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । केन्द्रीय आयोगले अध्यक्ष पदका उम्मेदवारका लागि १० हजार र पदाधिकारी तथा सदस्यका लागि पाँच हजार रुपैयाँ शुल्क तोकेको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जनाएका छन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया