झापा : झापाको कनकाई नगरपालिकामा गएराति दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
गएराति करिब ९:१० बजे कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित भित्री सडकखण्डमा, सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१५ प ४२१० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक, कनकाई–३ का ३३ वर्षीय दीपक सिटौला, गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका सिटौलालाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
दुर्घटनापछि प्रहरी नायव निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले दुवै मोटरसाइकल र ४२१० नम्बरको मोटरसाइकल चालक, कनकाई–६ का २३ वर्षीय नितेश बस्नेत तथा सोही मोटरसाइकलमा पछाडि सवार, बाह्रदशी–७, सुन्दर टोलका २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया