महामन्त्री थापा–शर्माद्वारा नियमित महाधिवेशन स्थगनको घोषणा

विहीबार, १७ पुस २०८२
File Photo

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरिएको बताएका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अब विकल्पका रूपमा विशेष महाधिवेशन मात्रै रहेको जनाएका छन् ।

विज्ञप्तिमा कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी स्थगित गरिएको जानकारी दिइएको छ ।

महामन्त्रीद्वय थापा र शर्माका अनुसार महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको छ । हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ जनाको क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसकेको उनीहरूले बताएका छन् । बाँकी खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाख नाघ्ने अनुमान गरिएको छ ।

यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको र अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको काम निरन्तर भइरहेको विज्ञप्तिमा उल्लेख छ । नियमित महाधिवेशन स्थगित भए पनि नयाँ सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबै तहलाई निर्देशन दिइएको उनीहरूले बताएका छन् ।

महामन्त्रीद्वयले पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार आवश्यक कार्यतालिकालाई समयमै गति दिन नसक्दा सम्पूर्ण प्रक्रिया प्रभावित भई निष्प्रभावी बनेको जनाएका छन् । उत्पन्न अन्योल र अनिश्चितता अन्त्य गर्न विज्ञप्ति जारी गरिएको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै भए पनि निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था आएपछि विशेष महाधिवेशन मात्रै विकल्पका रूपमा अघि आएको उल्लेख गरिएको छ ।

पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको र उक्त प्रक्रिया सम्भव भएसम्म सर्वसम्मतिले अघि बढाइने महामन्त्रीद्वयले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार