इलाम : इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रवि–राँके सडक खण्डमा भएको दुर्घटनामा परी फाकफोकथुम गाउँपालिका–४ निवासी सुवास सारु मगरको ज्यान गएको हो ।
दुर्घटना सोमबार साँझ करिब ५ बजे रवि–राँके सडक खण्डअन्तर्गत रवि माथि ‘धोद्रे’ भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ । सप्तमी बजारबाट रवितर्फ गइरहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मगरलाई तत्काल उपचारका लागि आधारभूत अस्पताल रवि लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलमा पछाडि सवार काशीनाथ मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक दुर्गा बहादुर राईले जानकारी दिए ।
प्रतिक्रिया