मस्को : युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा रुसको नियन्त्रणमा रहेको भू–भागमा युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको रुसले दाबी गरेको छ ।
मस्को समर्थित खेरसोन क्षेत्रका गभर्नर भ्लादिमिर साल्डो र अन्य रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बिहीबार प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो । गभर्नर साल्डोले टेलिग्राममार्फत दिएको जानकारीअनुसार ‘ब्ल्याक सी’को तटीय ग्रामीण क्षेत्रमा रहेको एक क्याफे र होटललाई लक्षित गरी तीनवटा मानवविहीन हवाई यान (यूएभी) बाट आक्रमण गरिएको थियो ।
उक्त आक्रमणमा २४ जनाको ज्यान गएको र ५० भन्दा बढी व्यक्ति घाइते भएको साल्डोको दाबी छ । उनले टेलिग्राममा पोस्ट गरेका तस्वीरहरूमा आगलागीबाट जलेका भवन, धुवाँले ढाकिएको भग्नावशेष र जलेका शवहरू देखिएको बताइएको छ ।
रुसी अनुसन्धान समितिले आक्रमणमा २० जनाभन्दा बढीको मृत्यु भएको जनाउँदै घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
यसैबीच, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाएकी छन् ।
तर, युक्रेनी अधिकारीहरूले आक्रमणसम्बन्धी रुसको दाबीबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
खोरली गाउँ ‘ब्ल्याक सी’ तट नजिक रूसी प्रायद्वीप क्षेत्रमा पर्दछ । सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध सुरु गरिएको रुसी आक्रमणको सुरुवाती चरणमै उक्त क्षेत्र रुसी नियन्त्रणमा गएको थियो । पछि, २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमण गर्दै खेरसोन क्षेत्रको ठूलो भाग, क्षेत्रीय राजधानीसहित पुनः कब्जा गरेको थियो ।
प्रतिक्रिया