सिन्धुलीमा बुहारी हत्याकाण्ड: नन्दले भाउजूलाई आगो लगाएर हत्या गरेपछि दिनभर तनाबग्रस्त

शुक्रबार, ११ पुस २०८२
  • राजकुमार कार्की

सिन्धुली : यही ६ गते आइतबार सिन्धुलीको कमलामाई नगरपालिका–४, वीपी नगरकी ३२ वर्षीया सुशीला घिसिङ वम्जनले दुई छोरी र एक छोरालाई विद्यालयबाट पढाइ सकेर ल्याएपछि अपराह्न खाजा खुवाइ दैनिक कार्यअनुसार ट्युसन पुर्‍याएकी थिइन्।

फर्केर आउँदा भान्सामा रिसाएको अवस्थामा नन्द ३५ वर्षीया मिना वम्जन बसिरहेकी थिइन्। नजिकै आइरहेको कालको पर्बाह नगरी सुशीला आफ्नै काममा लागिन्।

हत्याको योजना बनाइसकेकी नन्द मिना वम्जनले अचानक सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाइन् र बाहिरबाट ढोकामा चुक्कुल लगाइदिइन्। जीवन बचाउन हारगुहार गरेकी सुशीलाको प्रयास सफल हुन सकेन र अन्ततः घटनास्थलमै उनको मृत्यु भयो।

घटनापछि प्रहरीले नन्द मिना वम्जन र सासू ६० वर्षीया मायारानी वम्जनलाई पक्राउ गरेको छ। बुहारीलाई बचाउन गएको भनिएका ससुरा ६५ वर्षीय दुर्गामान वम्जन केही जलेका छन्।

उनी पहिलेदेखि नै प्यारालाइसिसका बिरामी हुन्। प्रहरीलाई नन्द मिना वम्जनले दिएको बयानमा आफूले पेट्रोल छर्केर भाउजूलाई आगो लगाई ढोका बन्द गरेको र आमा मायारानीले चेनगेट बन्द गरेको बताएकी छन्।

स्मरणीय छ, ससुरा दुर्गामान हत्या गरिएकी सुशीलाका आफ्नै मामा हुन्। वैदेशिक रोजगारीका लागि सुशीलाका श्रीमान् दुई वर्षदेखि कोरियामा छन्।

सुशीलाका बाबु प्रेमबहादुर घिसिङले नन्द, सासू र ससुरा मिलेर छोरीको हत्या गरेको किटानी जाहेरी दिएका छन्। नन्द मिना र सासू मायारानी प्रहरी हिरासतमा छन् भने ससुरा दुर्गामान प्रहरीकै निगरानीमा उपचाररत छन्।

वीपी नगरस्थित घरमा सामान निकाल्न सिलबन्दी गरिएको घर खोलिएपछि स्थानीयहरू आक्रोशित बनेका थिए। त्यसक्रममा तोडफोड र आगजनीको प्रयास भएपछि प्रहरीले टियर ग्यास प्रयोग गरेको थियो। तर पनि भिड नियन्त्रणमा नआएपछि हिजो कर्फ्यु लगाउनुपरेको प्रहरीले जनाएको छ। आक्रोशित भिडले ढुंगामुढा गर्दा १२ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूले प्रहरी प्रशासनविरुद्ध पनि प्रदर्शन गरेका छन्।

सिलबन्दी गरिएको घरमा सामान निकाल्न सहमति बिना प्रवेश दिएको भन्दै स्थानीय आक्रोशित छन् भने प्रहरीले पीडित पक्षकै सहमतिमा सामान निकाल्न दिएको दाबी गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार