सुनसरीमा श्रीमतीको शरीरमा श्रीमानले पेट्रोल खन्याएर लगाए आगो

विहीबार, १० पुस २०८२
Photo : AI

दुहबी : सुनसरीको दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रमा एक व्यक्तिले आफ्नै श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। बिहीबार दिउँसो ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनमाथि आक्रमण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार घरायसी वादविवादका क्रममा आक्रोशित बनेका मुस्तफाले श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएका थिए। छिमेकी र स्थानीयले घटनाबारे थाहा पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय दुहबीमा खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इप्रका दुहबीबाट प्रहरी सहायक निरीक्षक (प्रसह) शिव नारायण माझीको कमाण्डमा २ जनाको क्युआरटी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घाइते खुस्बुलाई तत्काल उद्धार गरी उपचारका लागि दुहबीस्थित सामुदायिक अस्पताल पठाएको छ।

आगोले जलेर खुस्बुको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। उनको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ। यद्यपि, घाइते बोल्न सक्ने मध्यम अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।

आफ्नै श्रीमतीलाई जलाउने मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार