झापा : बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा आज थप सहयोग जुट्दै कोषलाई थप सुदृढ बनाइएको छ । उद्योगी–व्यवसायीको हकहित संरक्षणसँगै आपत–विपतमा परेका सदस्यलाई तत्काल मलमपट्टी गर्ने उद्देश्यले स्थापना गरिएको कोषमार्फत संघले सामाजिक उत्तरदायित्वलाई संस्थागत बनाउँदै लगेको जनाएको छ ।
आज आयोजित कार्यक्रममा संघका पूर्व कार्य समिति सदस्य तथा राधा ट्रेडिङका सञ्चालक राजेश मित्तल ९राजु०ले आफ्नो जन्मदिनको अवसर पारेर राहत कोषमा रु २१ हजार १०० सहयोग प्रदान गरेका छन् । संघले सहयोगदाता मित्तललाई सम्मान गर्दै जन्मदिनको मंगलमय शुभकामना व्यक्त गरेको छ ।
संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायी समुदाय विभिन्न किसिमका जोखिम र संकटमा पर्ने भएकाले राहत कोषलाई निरन्तर सशक्त बनाउँदै लगिने बताए । “व्यवसायीको दुःख–सुखमा संघ सधैं साथमा हुन्छ । राहत कोषले आपतमा परेका सदस्यलाई समयमै सहयोग पुर्याउने विश्वास दिलाएको छ,” उनले भने ।
राहत कोषका संयोजक राजकुमार घिमिरे राजुले कोषमा योगदान गर्ने दातालाई सम्मान गर्ने परम्पराले सहयोगको संस्कृति बलियो बन्दै गएको बताए । “सानो–ठूलो जुनसुकै सहयोगले पनि कोषलाई जीवन्त बनाउँछ । आजको सहयोगले आपतका बेला सदस्यलाई छिटो सहारा दिन थप ऊर्जा मिलेको छ,” उनले बताए ।
महासचिव कुशल खतियवाडाले संघले कोष सञ्चालनमा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेको उल्लेख गरे । “विभिन्न अनलाइन तथा छापा सञ्चार माध्यमबाट सार्वजनिक कार्यक्रममार्फत कोषको विवरण सार्वजनिक गर्दै आएका छौं । यसले व्यवसायी समुदायमा भरोसा बढाएको छ,” उनले भने ।
कार्यक्रममा आजसम्म कोषमा जम्मा भएको रकमको जानकारी गराउँदै सहयोगदातालाई सम्मान गरिएको थियो । संघका अनुसार राहत कोषमा योगदान निरन्तर बढ्दै गएको छ र आगामी दिनमा सदस्यको आवश्यकता अनुसार सहयोग वितरण प्रक्रिया थप प्रभावकारी बनाइनेछ ।
उद्योगी–व्यवसायीको साझा हितका लागि क्रियाशील संघले स्थापना गरेको यो कोषले संकटका घडीमा व्यवसायीलाई साथ दिने विश्वासका साथ सहयोग अभियानलाई निरन्तरता दिने संघले जनाएको छ ।
प्रतिक्रिया