विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा राष्ट्रिय स्तरका क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा बिहीबार बिहानका राति दुर्घटनामा परेका हुन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटना बिहानको राति करिब पौने १ बजेतिर भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल कोशी अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार तत्काललाई घटनामा अन्य सवारी साधनको संलग्नता देखिएको छैन । मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
मिनष थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि क्रिकेट खेल्दै आएका थिए । ब्याट्सम्यान उनले केही फ्रेन्चाइज लिगसमेत खेलेको परिवारले जनाएको छ ।
राष्ट्रिय खेलाडीको दुर्घटनामा निधन भएपछि परिवार, आफन्त तथा क्रिकेट क्षेत्रका व्यक्तिहरू शोकमा परेका छन् । थापा आमा तनुजा थापा र भाइ प्रदीप थापासँग विराटनगरमा बस्दै आएका थिए । बुवा डेढ दशकदेखि बेपत्ता रहेको परिवारले जनाएको छ ।
प्रतिक्रिया