काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लाको चन्दौसी क्षेत्रमा पत्नीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार पत्नी रूबी र उनका प्रेमी गौरवले योजनाबद्ध रूपमा रूबीका पति राहुलको हत्या गरेका थिए। घटनापछि पत्नीले प्रहरी थानामा पतिको गुमशुदगीको उजुरीसमेत दर्ता गराएको खुलेको छ।
प्रहरीका अनुसार १५ डिसेम्बरमा नगरसँग जोडिएको पत्रुआ गाउँको नालाबाट एक अज्ञात व्यक्तिको शव फेला परेको थियो। शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान कठिन थियो। दुई दिनपछि शवसँग सम्बन्धित एक हातमा “राहुल” नाम गुदिएको भेटिएपछि पहिचानतर्फ अनुसन्धान अगाडि बढाइएको थियो। सोही आधारमा करिब एक महिनाअघि चुन्नी मोहल्लाकी रूबीले आफ्ना पति राहुल हराएको भन्दै दिएको उजुरीसँग घटनाको सम्बन्ध जोडिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा रूबीको आफ्नै मोहल्लाका गौरवसँग अवैध सम्बन्ध रहेको खुलेको छ। प्रहरीका अनुसार राहुलले सो सम्बन्धको निरन्तर विरोध गर्दै आएका थिए। १८ नोभेम्बरमा राहुलले रूबी र गौरवलाई आपत्तिजनक अवस्थामा देखेपछि विवाद चर्किएको थियो। त्यसपछि दुवैले राहुलमाथि आक्रमण गरी हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार हत्या पछि प्रमाण लुकाउने उद्देश्यले शवलाई टुक्रा पारिएको थियो। यसका लागि गौरवले १९ नोभेम्बरमा ग्राइन्डर किनेको र रूबीले बजारबाट पोलिथिन झोला ल्याएको अनुसन्धानबाट खुलेको छ। शवका केही भाग पत्रुआ गाउँको नालामा फालिएको र बाँकी भागहरू राजघाट क्षेत्रको गङ्गा नदीमा बगाइएको प्रहरीले जनाएको छ। नालामा फालिएको धड प्रहरीले बरामद गरिसकेको भए पनि गङ्गामा फालिएका अङ्गहरू फेला परेका छैनन्।
प्रहरीले रूबी र गौरव दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया