विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राति एकसाथ छापा हानेर २० जनालाई पक्राउ गरेको छ। होटल बिगमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र होटल रत्नामा रहेको गोल्डेन क्यासिनोबाट उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले राति करिब ११ बजेतिर छापा हानेको थियो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये १७ जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको छ भने ३ जना क्यासिनो कर्मचारीलाई थप अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइनेछ। पक्राउ पर्नेमा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व निर्देशक तेजराज गिरी पनि रहेका छन्।
यसैगरी गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत, च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम, रोशन गिरी, अनिस राज लामा, आदेश बिक, घनश्याम शर्मा, सन्तोष बस्नेत, मो. जाकिर हुसैन, विवेक कुमार मण्डल, कृष्ण कुर्मी, रुपेश दाहाल, सुरज राय, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह, हरि भट्टराई र सुरेन्द्र बहादुर चन्द पक्राउ परेका छन्। हरि भट्टराई होटल बिगका सञ्चालकसमेत हुन्।
विराटनगरमा लामो समयदेखि क्यासिनोमा नेपाली नागरिकको प्रवेश भइरहे पनि प्रभावकारी निगरानी नहुँदा गतिविधि खुलेआम सञ्चालन हुँदै आएको थियो।
प्रतिक्रिया