काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा कुनै पनि हालतमा बयान नदिने अडान दोहोर्याएका छन्।
बरु आफू गोली खान तयार रहेको अभिव्यक्तिसमेत दिँदै ओलीले आयोगप्रति कडा प्रतिक्रिया जनाएका हुन्।
हालै सम्पन्न एमालेको एघारौँ महाधिवेशनबाट लगातार तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित ओलीले आइतबार राति हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा पत्रकार निमेष बन्जाडेलाई दिएको अन्तर्वार्तामा जाँचबुझ आयोगमा उपस्थित नहुने स्पष्ट पारे।
आयोगले अर्को साता बयानका लागि बोलाउने तयारी गरेको भन्ने प्रश्नमा ओलीले कडा शब्दमा प्रतिक्रिया जनाउँदै भने,‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने भनेपछि गोली हान्दिनु नि। उहाँहरूसँग बन्दुक छ नि त।’
उनले आयोगले जबरजस्ती ल्याउने भाषा प्रयोग गरिरहेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाए। साथै, अहिलेसम्म आयोगबाट लिखित वा मौखिक कुनै पनि जानकारी नआएको दाबीसमेत गरे।
‘त्यस्तो पत्रसत्र केही पनि आएको छैन,’ ओलीले भने, ‘मौखिक रूपमा पनि केही छैन।’
अन्तर्वार्तामा ओलीले आफ्नो आवतजावतसम्बन्धी सरकारी आदेशप्रति पनि असन्तुष्टि व्यक्त गरे। सरकारले ओलीलाई विदेश जान प्रतिबन्ध लगाउनुका साथै काठमाडौँ उपत्यकाबाहिर जानसमेत अनुमति लिनुपर्ने आदेश जारी गरेको सन्दर्भमा उनले त्यसलाई असंवैधानिक ठहर गरे।
‘मलाई जहाँ जानुपर्छ, म जान्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्न असंवैधानिक सरकारलाई सोध्नुपर्ने?’ भन्दै ओलीले आवश्यकता परे सरकारलाई नसोधी उपत्यकाबाहिर जाने बताएका छन्।
ओलीको यस अभिव्यक्तिले जाँचबुझ आयोग र सरकारसँगको टकराब अझ चर्किने सङ्केत देखिएको छ भने राजनीतिक वृत्तमा उनको भनाइले थप तरङ्ग सिर्जना गरेको छ।
प्रतिक्रिया