झापा । मध्य दक्षिणी झापाको झापा गाउँपालिकाका सीमावर्ती नाकाबाट अवैध रूपमा भारतीय माछा नेपाल भित्रिने क्रम अझै रोकिएको छैन ।
क्वारेनटाइन जाँचबिनै, भन्सार छलेर भारतबाट नेपाल भित्राइने माछा पटक–पटक बरामद भइरहे पनि अवैध ओसारपसारको सञ्जाल भने सक्रिय नै देखिएको छ ।
झापा गाउँपालिका–१ स्थित लसुना र रसुनगञ्ज नाकालाई केन्द्र बनाएर भारतीय माछा नेपाल प्रवेश गराउने गिरोह नै सक्रिय छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदाहुँदै पनि माछा ओसारपसार निरन्तर हुनु सुरक्षा संयन्त्र र प्रशासनिक इच्छाशक्तिमाथि स्थानीयले पटक पटक प्रश्न उठाउँदै आएका छन् ।
स्थानीयले प्रहरीको काम कारबाही माथि प्रश्न उठाउन थालेपछि आइतबार दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले झापा गाउँपालिका–४ नयाँ बस्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा भित्राइएको १२० केजी माछा बरामद गरेको छ ।
मोटरसाइकलमा हालेर ल्याइँदै गरिएको अन्दाजी ५० हजार रुपैयाँ बराबरको सिलङ माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो घटना पहिलो होइन । यसअघि गत मङ्सिर २१ गते सोही नाकाबाट भित्राइएको ४१७ केजी भारतीय माछा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बरामद गरेको थियो ।
त्यति बेला विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–३ स्थित सव–डिभिजन वन कार्यालय नजिकै बाटो छेउमा सवारीसाधनमा हालेर सुरुङ्गातर्फ लैजान लागिएको अवस्थामा अन्दाजी मूल्य एक लाख ५० हजार रुपैयाँ बराबरको माछा नियन्त्रणमा लिएको थियो ।
बरामद माछामा मुङ्ग्री, सिलन, रहूँ र बम्प्लेट जातका माछा थिए । तीमध्ये मुङ्ग्री माछा नेपालमा प्रतिबन्धित प्रजातिमा पर्छ । यसले अवैध माछा कारोबार केवल भन्सार छल्ने विषय मात्र नभई जैविक जोखिम र कानुनी उल्लङ्घनसँग पनि जोडिएको देखाउँछ ।
कारोबारीहरूले माछा भित्र्याउन प्रयोग गरिरहेको शैली अझै चकित पार्ने खालको छ । कारोबारी स्रोतका अनुसार भारतीय सीमामै माछाका कार्टुन खोलिन्छन् । त्यसपछि झोलामा झोला माछा हालेर मोटरसाइकलमार्फत नेपाल भित्राइन्छ । सीमाबाट केही भित्र सुरक्षित स्थानमा माछा भण्डारण गरिन्छ ।
त्यहाँबाट पुनः ट्याम्पो, पिकअप वा अन्य सवारीसाधनमार्फत सुरुङ्गा, बिर्तामोड लगायतका ठूला बजारसम्म पु¥याइन्छ । यसरी स–साना परिमाणमा पटक–पटक माछा ओसार्ने भएकाले सुरक्षाकर्मीको नजर छल्न सजिलो हुने गरेको कारोबारीहरूको दाबी छ ।
सशस्त्र प्रहरीकै मिलेमतोको आरोप
सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) टाघनडुब्बाका सशस्त्र प्रहरीकै मिलेमतोमा माछा भित्रिरहेको स्थानीयको दाबी छ ।
स्थानीयवासीहरू भन्छन्, ‘सामान्य नागरिकले कुखुरा वा तरकारी बोक्दा पनि चेकजाँच हुने ठाउँबाट ठूलो परिमाणमा माछा कसरी सजिलै भित्रिन्छ ? यसमा मिलेमतो नभए सम्भव छैन ।’
यसअघि पनि गत कात्तिकमा झापा गाउँपालिकामा माछा बोकेको एउटा गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तर, उक्त गाडी पछि प्रहरीले छाडेको घटनाले थप विवाद सिर्जना गरेको थियो ।
भारतबाट आयातित प्रतिबन्धित माछा बोकेको प्र १–०१–००२ च ०६५२ नम्बरको महेन्द्रा कम्पनीको पिकअप भेनलाई स्थानीयवासीले नियन्त्रणमा लिएपछि कुमरखोद नाका हुँदै माछा तस्करी हुने गरेको रहस्य बाहिरिएको थियो ।
स्थानीयले माछा बोकेको पिकअप नियन्त्रणमा लिए पनि इलाका प्रहरी कार्यालय कुमरखोदमा कार्यरत घुमुवा प्रहरी सहायक हवलदार विकास घिमिरेले सो गाडी नियन्त्रणमा लिनुको सट्टा तस्करलाई जोगाउँदै भगाएको आरोप लागेको थियो । प्रहरीले नै माछा बोकेको गाडी भगाएपछि स्थानीय र प्रहरीबिच चर्को विवाद उत्पन्न भएको थियो ।
विवाद चर्किएपछि प्रहरीले भगाएको भनिएको उक्त पिकअप भ्यान माछा खाली गरेर राति नै पुनः इलाका प्रहरी कार्यालय कुमरखोदको परिसरमा ल्याइएको थियो ।
प्रहरी आफैँले भगाएको गाडी पुनः राति कार्यालयमा ल्याइनुले प्रहरी–तस्कर मिलेमतोमा दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा तस्करी हुने गरेको आरोपलाई झन् बलियो बनाएको थियो ।
स्थानीयका अनुसार माछा तस्करीमा संलग्न समूहले प्रहरीकै संरक्षणमा भारतबाट नेपालतर्फ माछा भित्र्याएका थिए । झापा गाउँपालिका वडा नं २ नरिवल टोलका युवाहरूले माछा बोकेको पिकअप रोकेपछि तस्करलाई जोगाउँदै प्रहरीले उल्टै स्थानीयसँग विवाद गरेको आरोप छ ।
छठ पर्वको अवसरमा हुलाकी सडकअन्तर्गत पर्ने सानोमाई खोलाको किनारमा धार्मिक मेला आयोजना गरेका झापाली युवा क्लबका युवाहरूले सो पिकअप भ्यान रोकेका थिए ।
नेपालमा बिक्री गर्न प्रतिबन्धित माछाका कार्टुनले भरिएको गाडी रोकेर उनीहरूले चालकको चाबीसमेत खोसेका थिए ।
स्थानीय रवि मुखियाका अनुसार माछाले भरिएको गाडी चेकजाँच गर्न खोज्दा घुमुवा प्रहरी सहायक हवलदार घिमिरेले जाँच गर्न नदिई ‘कानुन हातमा नलिन’ भन्दै उल्टै धम्की दिएका थिए । ‘गाडी चेक गर्न खोज्दा प्रहरीले नै रोकेपछि हामी अचम्मित भयौँ,’ उनले भने ।
प्रत्यक्षदर्शी सहदेवकुमार मण्डलका अनुसार सहायक हवलदार घिमिरेले उक्त गाडी ‘सुरक्षाका लागि’ भन्दै सशस्त्र प्रहरीको बेस क्याम्प लैजाने भनेर चालकलाई चाबी फिर्ता दिएका थिए । तर, गाडी सशस्त्र प्रहरीको बेस क्याम्प नलगी फरार बनाइएको उनले बताए ।
अर्का प्रत्यक्षदर्शी राजु महतोले पनि प्रहरीले नै तस्करलाई सहयोग गरेर गाडी भगाएको दाबी गरे । ‘यदि प्रहरीले चाहेको भए गाडी तुरुन्त नियन्त्रणमा लिन सक्थ्यो, तर त्यसो गरिएन,’ उनले भने ।
घटनापछि प्रहरी सहायक हवलदार घिमिरेले भने आफू झगडा छुट्याउने क्रममा गाडी कहाँ गयो थाहा नभएको भन्दै गैर जिम्मेवार अभिव्यक्ति दिएका थिए । उनको उक्त भनाइले प्रहरीको भूमिकामाथि झनै शङ्का उत्पन्न गराएको थियो ।
स्थानीयवासीहरूले अवैध रूपमा ल्याइएको माछा बोकेको प्रमाणसहित बुझाएको गाडी छाडिनु प्रशासनको दोहोरो मापदण्डको उदाहरण भएको आरोप लगाएका छन् । यसले अवैध कारोबारीहरूको मनोबल बढाएको र कारोबार झन् सङ्गठित बन्दै गएको उनीहरूको भनाइ छ ।
यता अवैध रूपमा भित्रिने भारतीय माछाले स्थानीय माछा व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन् । नेपालमै उत्पादन भएका माछा महँगो पर्न जाने र भारतीय माछा सस्तोमा बजारमा पुग्ने भएकाले स्थानीय किसान र व्यवसायी प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्था सिर्जना भएको छ ।
यही समस्यालाई ध्यानमा राख्दै झापाको बिर्तामोड नगरपालिकाले भारतबाट आयातित मरेका माछा बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले स्वास्थ्य जोखिम, गुणस्तरहीन माछा बिक्री र स्थानीय उत्पादनको संरक्षणलाई कारण देखाउँदै यस्तो निर्णय गरेको हो ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला भन्छन् – क्वारेनटाइन जाँचबिनै भित्रिने मरेका माछा स्वास्थ्यका लागि खतरनाक हुन्छन् । त्यसैले नगर क्षेत्रमा त्यस्ता माछा बिक्री गर्न नदिने निर्णय गरेका हौँ ।’
स्थानीय तहको यस्तो निर्णय कार्यान्वयनमा कति प्रभावकारी हुन्छ भन्ने प्रश्न भने कायमै छ । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण नभएसम्म बजारमा माछा पुग्ने क्रम रोकिने छैन ।
अवैध माछा कारोबार नियन्त्रण गर्न सीमा सुरक्षालाई कडाइ गर्ने, क्वारेनटाइन र भन्सारको संयुक्त अनुगमन बढाउने तथा मिलेमतो गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही आवश्यक रहेपनि जेनजी आन्दोलनपछि सुस्ताएको प्रहरीले सक्रियताका साथ काम नगर्दा भारतबाट भन्सार छलेर ल्याउने माछा मात्र होइन अन्य सामान पनि उत्तिकै भित्रिरहेको छ ।
पटक–पटक माछा बरामद हुनु सकारात्मक भए पनि अवैध कारोबार निरन्तर रहनु प्रशासनका लागि गम्भीर चुनौती हो । झापा गाउँपालिकाबाट सुरु हुने यो अवैध सञ्जाल सुरुङ्गा र बिर्तामोडजस्ता व्यस्त बजारसम्म फैलिएको छ ।
प्रतिक्रिया