सिन्धुली : कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्साकोठामा आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार आगो निभाउने क्रममा दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ।
उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको प्रहरीले जनाएको छ।
घटनाका बेला घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द रहेका थिए। मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनका दुई छोरा र एक छोरी छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।
प्रतिक्रिया