काठमाडौँ : मुलुकको सबैभन्दा पुरानो दल नेपाली काँग्रेस अहिले १५औँ महाधिवेशनको तयारीमा जुटेको छ। काँग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमालेले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ। काँग्रेसले लामो रस्साकस्सीपछि यही पुस २६ गतेदेखि काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गत मङ्सिरमा गरेको थियो, तर क्रियाशील सदस्यता विवाद र वितरण प्रक्रिया अझै अलमलमा छ।
मङ्सिर २५ गतेभित्र वडासम्म नयाँ सदस्यता फाराम पुर्याउने निर्णय गरेको काँग्रेसले शुक्रवार रातिसम्म जिल्ला तहमा पुर्याएको दाबी गरेको छ। काँग्रेसले अहिलेसम्म ६ लाख नयाँ सदस्यता फाराम जिल्ला, क्षेत्र हुँदै गाउँसम्म पुर्याएको जनाएको छ। २००३ सालमा बिपी कोइरालासहित केही युवाले स्थापना गरेको यस पार्टीमा हरेक महाधिवेशनपछि क्रियाशील सदस्यता लिने–दिने क्रम बढ्दै आएको छ।
नेपालको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनको अगुवाइ गर्दै आएको काँग्रेसले क्रियाशील सदस्य सङ्ख्या बढाउँदै लगे पनि पछिल्ला आमनिर्वाचनमा मत भने गुमाउँदै आएको छ। काङ्ग्रेसभित्र क्रियाशील सदस्यता वितरण निर्वाचन जित्न र सङ्गठन चलायमान बनाउनभन्दा बढी पार्टीमा नेता विशेषको प्रभाव बढाउने अस्त्र बन्दै गएको गुनासो नेताहरूले गरेका छन्।
सहरिया मतदाताको मन जित्न नसकेको काँग्रेस दूरदराजका जनताको भरोसा बन्न पनि नसकेको गुनासो छ। सङ्गठन चलायमान बनाउनेभन्दा बढी आफू र आफ्नालाई स्थापित गर्ने मनोग्रन्थीबाट नेताहरू उद्वेलित बन्दा काँग्रेसमा हरेक महाधिवेशनमा क्रियाशील सदस्यता विवाद पेचिलो बन्ने गरेको छ।
यही विवादले यसपटक पनि पुस २६ गतेदेखि तोकिएको महाधिवेशन सर्न सक्ने निश्चितता बढाएको छ। महामन्त्री गगनकुमार थापाको नेतृत्वमा क्रियाशील सदस्यता वितरण र व्यवस्थापनका लागि डेढ वर्षअघि नै काँग्रेसले समिति गठन गरेको थियो, तर अहिलेसम्म नयाँ वितरण होइन, पुरानो क्रियाशील सदस्यता नवीकरणको काम पनि सकिएको छैन।
समितिका सदस्य प्रकाश रसाइलीले नवीकरणको काम अन्तिम चरणमा पुगेको दाबी गरे। धनुषा, बारा, प्युठानसहित केही जिल्लाबाहेक सदस्यता नवीकरणको काम टुङ्गो लागेको उनको दाबी छ। १४औँ महाधिवेशनअघि ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको बताउँदै उनले भने, “यस पटक नवीकरणको सङ्ख्या त्योभन्दा बढी हुन्छ।” १४औँ महाधिवेशनका बेला काँग्रेसले शतप्रतिशत सदस्यता थप्दै आठ लाख ५२ हजारभन्दा बढी पुर्याएको थियो, तर २०७९ मङ्सिरमा भएको आमनिर्वाचनमा काँग्रेसको मत बढेन।
बरु अघिल्लो निर्वाचनको तुलनामा सात लाखभन्दा कम मत काँग्रेसको पक्षमा परेको थियो। यसअघि महामन्त्री थापाले २०७९ को निर्वाचनअघि १५ लाख नयाँ मतदाता पार्टीमा थप गर्ने उद्घोष गरेका थिए। युवा आकर्षण बढाउन १४औँ महाधिवेशनमा क्रियाशील सदस्यता दोब्बर गरिएको थियो।
काँग्रेसले २०७९ को निर्वाचनमा समानुपातिकतर्फ अघिल्लो पटकभन्दा सात लाख ५४ हजार मत गुमाएर २७ लाख १५ हजार २२५ अर्थात् २५.७१ प्रतिशत मात्र पाएको थियो। कतिपय निर्वाचन क्षेत्रमा पार्टीले पाएको समानुपातिक मतभन्दा क्रियाशील सदस्य सङ्ख्या बढी भएको जानकारी दिँदै एक नेताले भने, “पहिला एउटा टोलमा एक जना क्रियाशील सदस्य भए पनि अधिकांश काँग्रेसका मतदाता हुन्थे।
अहिले टोलभरि काँग्रेसका क्रियाशील सदस्य छन्, तर निर्वाचनमा पार्टीको पक्षमा मतदान गर्ने भने घट्दै गएका छन्।” नेताहरूले पार्टीका हरेक निकायमा आफ्नो प्रभुत्व जमाउन सदस्यता बाँड्दा सङ्ख्या बढे पनि सङ्गठन कमजोर बनेको गुनासो पार्टीभित्रै सुनिन्छ। २०६४ सालको संविधानसभा निर्वाचनमा काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच एकीकरण हुँदा क्रियाशील सदस्य सङ्ख्या पाँच लाख पुगेको थियो। संविधानसभा चुनावमा काँग्रेसले २१.१४ प्रतिशत मत पाएको थियो।
१२औँ महाधिवेशनबाट साढे चार लाख सक्रिय सदस्य बनाएको काँग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा २५.५५ प्रतिशत मत पाएको थियो। २०७२ सालमा भएको १३औँ महाधिवेशनमा पनि सोही सङ्ख्यामा क्रियाशील सदस्य रहेका थिए। २०७४ सालको निर्वाचनमा काँग्रेसले ३२.७७ प्रतिशत मत पाएको थियो।
अहिले आठ लाख सदस्यता नवीकरण गर्ने उद्देश्यका साथ काँग्रेसले ६ लाख नयाँ सदस्यता वितरणका लागि तल्लो तहमा फाराम पठाएको छ। संस्थाभन्दा गुट र व्यक्तिविशेष हाबी हुँदै जाँदा सङ्गठन कमजोर भएको काँग्रेसलाई विगतजस्तो जनताको मन जितेर मत लिन त्यति सहज छैन।
नागरिक दैनिकबाट साभार गरिएको हो ।
प्रतिक्रिया