महाधिवेशनअघि नै टिकटको दौड: काँग्रेसमा यी २० नेताले गरे प्रतिनिधिसभा ‘सिट’ पक्का

विहीबार, ०३ पुस २०८२

काठमाडौँ : विघटित प्रतिनिधिसभाको दोस्रो ठुलो दल नेकपा (एमाले) महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको रस्साकस्सीमा रहेकै बेला पहिलो दल नेपाली काँग्रेसमा भने महाधिवेशनभन्दा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र बनेको छ । काँग्रेसले आगामी २६ देखि २८ पुससम्म महाधिवेशनको मिति तय गरिसकेको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता विवादमा सहमति जुट्न सकेको छैन ।

महाधिवेशनभन्दा चुनावी सरगर्मी तीव्र

क्रियाशील सदस्यताको क्रमसंख्यासम्बन्धी विवाद चर्किँदै जाँदा नेताहरूको ध्यान भने निर्वाचनकेन्द्रित हुन थालेको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका अधिकांश दलले उम्मेदवार सिफारिसको गृहकार्यसमेत थालेका छैनन् । तर काँग्रेसका निर्वाचन क्षेत्रीय समितिहरूले भने धमाधम प्रतिनिधिसभा उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन थालेका छन् ।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ । काँग्रेसका निवर्तमान सांसदहरू प्रतिनिधिसभा पुनः स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको अवस्थाबिच तल्ला समितिहरूले भने चुनावी मितिलाई ध्यानमा राख्दै उम्मेदवार सिफारिसको काम तीव्र पारेका छन् ।

१ सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको काँग्रेस केन्द्रीय कार्यालयका कर्मचारीहरू बताउँछन् । पार्टी सभापति, दुई महामन्त्रीसहित २० जनाभन्दा बढी प्रभावशाली नेताको नाम भने एकल रूपमा सिफारिस भएर केन्द्रमा आएको छ ।

काँग्रेसले विगतका निर्वाचनमा पनि एकल नाम सिफारिस भएका क्षेत्रमा सिफारिस भएकै व्यक्तिलाई टिकट दिने गरेको इतिहास छ । ‘विगतको नजिर हेर्दा आगामी २१ फागुनमा निर्वाचन हुने हो भने सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताले टिकट पक्का गरिसकेको देखिन्छ,’ काँग्रेसका एक पदाधिकारीले राजधानीसँग भने ।

सभापति देउवा डडेलधुराबाट एकल सिफारिस भएका छन् । २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका देउवाले यसअघि नै अन्तिमपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धा गर्ने सङ्केत दिइसकेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सुर्खेत–१ बाट एकल रूपमा सिफारिस भएका छन् । उनले यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका थिए ।

महामन्त्री थापा भने आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–४ सहित तेह्रथुम,रोल्पा–१ र सर्लाही–४ बाट एकल सिफारिसमा परेका छन् । चार निर्वाचन क्षेत्रबाट एकल रूपमा सिफारिस भए पनि उनले कहाँबाट प्रतिस्पर्धा गर्ने भन्ने विषयमा हालसम्म मुख खोलेका छैनन् । महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन क्षेत्रीय समितिले झापा–१ बाट एकल रूपमा सिफारिस गरेको छ । उनी यसअघि २०७९ सालमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

अर्का प्रभावशाली नेता शेखर कोइराला मोरङ–६ बाट, व्यवसायीसमेत रहेका नेता सुनिल शर्मा मोरङ–३ बाट र पूर्वउपसभापति विमलेन्द्र निधि धनुषा–३ बाट एकल सिफारिस भएर आएका छन् । रौतहट–२ को निर्वाचन क्षेत्रीय समितिले स्वर्गीय मोहम्मद अफताव आलमका छोरा फिरदोस आलमको एकल नाम सिफारिस गरेर पठाएको छ । भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका नेता सन्तोष चालिसे पनि काठमाडौँ–३ बाट एकल सिफारिसमा परेका छन् ।

नेपाल मजदुर किसान पार्टीको किल्लाका रूपमा चिनिने भक्तपुर–१ बाट बाबुराजा जोशीको नाम एकल सिफारिसमा पर्दा नेता प्रकाशशरण महत नुवाकोट–१ बाट एकल सिफारिस भएका छन् । दार्चुला–१ बाट दिलेन्द्रप्रसाद बडू, नवलपरासी–२ बाट देवेन्द्रराज कँडेल, पर्सा–४ बाट रमेश रिजाल, पर्सा–१ बाट अनिल रुंगटा, सिरहा–२ बाट रामचन्द्र यादव, पाल्पा–१ बाट सन्दीप राना, रसुवा–१ बाट मोहन आचार्य र सिन्धुपाल्चोक–१ बाट मोहन बस्नेतको नाम पनि प्रतिनिधिसभा सदस्यका रूपमा एकल सिफारिस भएर आएको छ ।

काँग्रेस विधानअनुसार क्षेत्रीय कार्यसमितिले एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ । तर समितिले सर्वसम्मत रूपमा एक जनालाई सिफारिस गर्न सक्ने व्यवस्था विधानमै भएकाले काँग्रेसमा एकल सिफारिसको अभ्यास निरन्तर देखिँदै आएको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार