विराटनगर : विराटनगरको नोबेल शिक्षण अस्पतालमा अचान पेट दुखेपछि उपचारका लागि भर्ना गरिएका नेपाल प्रहरीका एक जना सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ हरैँचा टोल घर भएका प्रहरी सहायक हवल्दार ३४ वर्षीय सरोज श्रेष्ठको मृत्यु उपचारका क्रममा मृत्यु भएको हो । इलामको प्रहरी चौकी फुइयातप्पा दरबन्दी भएका श्रेष्ठ इलामकै अस्थायी प्रहरी पोस्ट कालपोखरीमा कार्यरत थिए ।
डीएसपी चुँडालका अनुसार अचानक पेट दुख्ने समस्या देखिएपछि उनलाई उपचारका लागि मंगलबार नोबेल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले कलेजोमा समस्या भएको बताएपछि आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।
आईसीयूमा उपचाररत अवस्थामै बुधबार दिउँसो साढे २ बजेतिर सहायक हवल्दार श्रेष्ठलाई चिकित्सकले मृत घोषित गरिदिएका हुन् । प्रवक्ता चुँडालले घटनाका बारेमा थप बुझ्ने काम भइरहेको जानकारी दिइन् ।
प्रतिक्रिया