अनुसन्धानले खुलायो धनपालथानको लागुऔषध षडयन्त्र, छोरी नदिँदा फसाउने योजना

बुधबार, ०२ पुस २०८२

विराटनगर : मोरङको धनपालथान गाउँपालिकामा लागुऔषध मुद्दामा निर्दोष व्यक्तिलाई फसाउने योजनालाई प्रहरीले समयमै पर्दाफास गरेको छ। एकतर्फी प्रेम र प्रतिशोधबाट प्रेरित योजनाबद्ध षडयन्त्रका कारण दुई परिवार जेल जाने अवस्थामा पुगे पनि प्रहरीको सूक्ष्म अनुसन्धानले वास्तविकता उजागर भएको हो।

धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंहले आफूले मन पराएकी युवतीसँग विवाह नहुँदा प्रतिशोधका रूपमा उनको परिवारलाई लागुऔषध मुद्दामा फसाउने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। युवतीको विवाह मंसिरमा अर्कै युवकसँग भएपछि सिंहले योजनाबद्ध रूपमा लागुऔषध राखेर पक्राउ गराउने रणनीति अपनाएका थिए।

मंसिर २७ गते धनपालथान–४ कर्सिया बजारमा प्रदेश–१–०४–००२ प ६४७१० नम्बरको मोटरसाइकलको इन्डिकेटरभित्र लुकाइ राखिएको १३.३१० ग्राम ब्राउन सुगरसहित २९ वर्षीय राजीव चौधरी पक्राउ परे। तर, उनको व्यवहार र पृष्ठभूमि हेर्दा प्रहरीलाई शंका उत्पन्न भयो।

अनुसन्धानका क्रममा यसअघि २०८२ वैशाख २० गते चन्द्रशेखर मण्डलको मोटरसाइकलमा पनि यस्तै प्रकृतिको घटना भएको र ल्याब रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेको तथ्य फेला पर्यो। दुवै घटना जोडेर हेर्दा पक्राउ परेका व्यक्ति नाताले ससुरा–ज्वाइँ रहेको र दुवै घटनामा एउटै व्यक्तिले प्रहरीलाई सुराकी दिएको खुलेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सुराकी दिने विराटनगर महानगरपालिका- ९ का २७ वर्षीय राजा धोवीलाई नियन्त्रणमा लिएपछि षडयन्त्रको सम्पूर्ण जालो खुलेको हो।

धोवीले १० हजार रुपैयाँको लोभमा विशालकुमार सिंहको योजनाअनुसार लागुऔषध राखिदिएको स्वीकारेका छन्।

धोवीको बयानका आधारमा प्रहरीले विशालका सहयोगी रोशन मण्डल र पारस मण्डललाई पक्राउ गर्‍यो भने अन्ततः मुख्य योजनाकार विशालकुमार सिंह पनि हिरासतमा पुगेका छन्। विशालले घटनामा संलग्नता स्वीकारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा रहेका चारै जना पेसेवर चोर तथा पटके अपराधी हुन्। वाइरिङको काम गर्ने आवरणमा उनीहरू अपराधमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

एसपी कटवालले भने, ‘प्रहरीको सतर्कता र सूक्ष्म अनुसन्धानका कारण निर्दोष व्यक्ति फस्नबाट जोगिएका छन्। षडयन्त्र रच्ने गिरोह नै अहिले नियन्त्रणमा छ।’ घटनाको विस्तृत अनुसन्धान इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार