धरानमा अन्तिम निर्णयकर्ता म नै हुँ : हर्क साम्पाङ

बुधबार, ०२ पुस २०८२

धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले धरानको विकाससम्बन्धी अन्तिम निर्णयको जिम्मेवारी आफूमा रहेको बताएका छन्।

श्रम संस्कृति पार्टी धरान नगर समितिद्वारा आज आयोजित सवारी चालक तथा मजदुर सम्मान एवं अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साम्पाङले धरानमा आफूभन्दा ठूलो निर्णयकर्ता कोही नभएको स्पष्ट पारे।

‘धरानमा मभन्दा ठूलो मान्छे कोही छैन, अन्तिम निर्णयकर्ता म नै हुँ,’ उनले भने, ‘यो अहंकारका लागि होइन, जिम्मेवारीका लागि हो।’

नगर प्रमुख साम्पाङले श्रमिकको सम्मान र श्रम संस्कृतिको विकास बिना देश समृद्ध हुन नसक्ने धारणा राखे। नेपाली समाजमा कामलाई सानो ठान्ने प्रवृत्तिका कारण अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो।

‘काम सानो–ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ,’ उनले भने, ‘श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ। श्रमिकको अपमान गर्नु हुँदैन, सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ।’

उनले श्रमिक केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने व्यक्तिमा सीमित नभइ शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै मानिस श्रमिक भएको स्पष्ट गरे।

‘हामी सबै श्रमिक हौँ, श्रमिकको सम्मानले मात्र समाज र राष्ट्र अगाडि बढ्छ,’ साम्पाङले जोड दिए।

कार्यक्रममा नगर प्रमुख साम्पाङले आगामी निर्वाचनपछि श्रमिककै प्रतिनिधित्व गर्ने नेतृत्व देशको सर्वोच्च जिम्मेवारीमा पुग्ने दाबीसमेत गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार