सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको आगलागीमा परेर मृत्यु भएको छ।
गत आइतबार दिउँसो करिब ४ बजेतिर घरको भान्सामा भएको आगलागीमा परेर उनको घटनास्थलमै ज्यान गएको हो। बुहारीको शरीरमा आगो लागेको देखेपछि निभाउने प्रयास गर्दा सुशीलाका ससुरा दुर्गामान बोम्जन पनि घाइते भएका छन्।
मृतक सुशीलाको माइती पक्षका अनुसार उनी केही वर्षदेखि घरपरिवारबाट पीडा खेप्दै आएकी थिइन्। सोही दिन बिहान करिब ९ बजेतिर उनले आमा बुद्धिमाया घिसिङसँग रुँदै फोनमा कुरा गरेकी थिइन्। माइती पक्षकी सरिता स्याङतानका अनुसार सुशीलाले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै डर लागेको कुरा फोनमै बताएकी थिइन्।
‘आमा, मलाई लिन आउनु। आज तँलाई मार्ने नै हो भनिरहेका छन्। मलाई धेरै डर लागिरहेको छ,’ सुशीलाले भनेको कुरा उद्धृत गर्दै सरिताले बताइन्। त्यसपछि आमाले छोरीलाई सम्झाउँदै ‘आज एक दिन बस, भोलि बुवालाई लिन पठाउँछु। त्यस्तो केही हुँदैन, नडराउन’ भनेकी थिइन्। सोही अनुसार माइती पक्षले भोलिपल्ट सुशीलालाई लिन जाने तयारीसमेत गरेका थिए।
घरपरिवारको व्यवहारले अत्तालिएकी सुशीलाले आफ्नी बहिनी सन्दी घिसिङ र माइतीका दाजुभाइ तथा भाउजूहरूसँग पनि आफूलाई मार्ने धम्की आइरहेको कुरा फोनमार्फत सेयर गरेकी थिइन्।
सुशीलाकी भाउजू निर्मला स्याङतानका अनुसार सबैले सल्लाह गरेर भोलिपल्ट बिहानै लिन जाने निर्णय गरेका थिए। ‘भान्जा–भान्जीहरू स्कुल गएका थिए। बच्चाहरू छोडेर तत्काल ल्याउने कुरा पनि भएन,’ सरिताले भनिन्, ‘त्यही भएर दिउँसो यस्तो घटना भयो।’
सोही दिन दिउँसो विद्यालय गएका छोराछोरीलाई घर ल्याएर सुशीलाले खाजा खुवाइन्। त्यसपछि उनी बच्चाहरूलाई ट्युसन पुर्याएर घर फर्किएकी थिइन्। भान्सामा पसेलगत्तै उनको शरीरमा एक्कासी आगो लागेको बताइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुशीलाकी नन्द मीना बोम्जन भान्साको कोठामै सुत्ने गर्थिन्। मीनाले भाउजू भित्र पस्ने बित्तिकै उनको शरीरमा पेट्रोल खन्याएर लाइटर बालेर बाहिर निस्किएको र कोठाको ढोका बाहिरबाट चुकुल लगाएको खुलेको छ। त्यसै समयमा सुशीलाकी सासू मायारानी बोम्जनले माथिल्लो तलाको च्यानल गेटमा ताला लगाएको प्रहरीले जनाएको छ।
साढे दुई तले घरमा बस्दै आएका उनीहरूले पहिलो तला भाडामा दिएका थिए भने दोस्रो तलामा आफैँ बस्दै आएका थिए। छिमेकीहरूका अनुसार सुशीलाको हारगुहार सुनेर घरमा पुग्दा मेन गेटसमेत बन्द अवस्थामा थियो।
छिमेकीहरू पुगेपछि सुशीलाका ससुरा दुर्गामान बोम्जनले बुहारी रहेको कोठाको ढोका खोलेका थिए। सो क्रममा आगोको लप्काले उनको हातमा चोट लागेको बताइएको छ। छिमेकीहरूले कराउन थालेपछि सासू मायारानीले मेन गेटको ताला खोलेको बताइन्छ। भित्र प्रवेश गर्दा सुशीलाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको थियो।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानमा सुशीलाले आत्मदाह नगरेको निष्कर्षमा प्रहरी पुगेको छ। भान्साको कुनामा पेट्रोलको गन्ध आउने रित्तो बोतल र डस्बिनमा लाइटर भेटिएपछि प्रहरीले हत्या भएको आशङ्कामा अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार मीना बोम्जनले बिहानैदेखि भाउजूको हत्या गर्ने योजना बनाएको खुलेको छ। उनले घर नजिकैको पसलबाट ५ लिटर पेट्रोल किनेर ल्याएको र घटनापछि आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार मीनाले परिवारका अन्य सदस्यको समेत साथ रहेको बयान दिएकी छन्। घटनामा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने उनले बताए।
सुशीलाको विवाह आफ्नै मामाको छोरा सूर्य बोम्जनसँग भएको थियो। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि विगत दुई वर्षदेखि दक्षिण कोरियामा रहेका छन्। मीनाले प्रहरीसमक्ष बयान दिँदै सुशीलाको हत्यामा श्रीमान्को समेत साथ रहेको दाबी गरेकी छन्। माइती पक्षका अनुसार सुशीलाले यसअघि पनि पटक–पटक घरेलु हिंसा सहँदै आएकी थिइन्।
सोही आधारमा सुशीलाका बुबा प्रेमबहादुर घिसिङले सासू मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले सोही साँझ सासू मायारानी र नन्द मीनालाई नियन्त्रणमा लिएको हो। ससुरा दुर्गामान भने प्रहरीको निगरानीमा उपचाररत छन्।
पक्राउ परेका दुवै जनालाई सोमबार जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सुशीलाका तीन सन्तान (दुई छोरा र एक छोरी) छन्। घटनापछि उनीहरूलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ स्थित मामाघरमा राखिएको छ।
प्रतिक्रिया