पूर्वीनाकाबाट मात्रै पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

बुधबार, ०९ पुस २०८२

झापा । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१–८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् नौ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अवधिमा तीन अर्ब ८२ करोड ७० लाख रुपैयाँ मूल्यका ४३ हजार १ सय ६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, दुई अर्ब ५३ करोड १६ लाख रुपैयाँ मूल्यका २६ हजार १ सय २० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, पाँच महिनामा एक अर्ब एक करोड ६० लाख रुपैयाँ मूल्यका १० हजार ४ सय ८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख रुपैयाँको तीन हजार ५ सय ८० किलोलिटर एटीएफ र छ करोड ३१ लाखका ६ सय ८० किलोलिटर मट्टितेल आयात भएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार