झापा । किताबको सीमित घेराभन्दा बाहिर गएर सिकाइलाई व्यवहारसँग जोड्ने उद्देश्यसहित बिर्तामोड नगरपालिका–७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलले आयोजना गरेको शैक्षिक प्रदर्शनीले विद्यालयलाई ‘व्यवहारिक शिक्षाको प्रयोगशाला’का रूपमा प्रस्तुत गरेको छ। बुधबार सम्पन्न प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीले विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयमा आधारित २५० भन्दा बढी परियोजनामुखी तथा प्रयोगात्मक सामग्री प्रस्तुत गरेका थिए।
प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई अभ्यासमा उतारी अभिभावकसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गरेको उल्लेख गरिन्। उनले सिकाइलाई व्यवहारसँग जोड्दा दीर्घकालीन ज्ञान प्राप्ति हुने बताउँदै यस्तो कार्यक्रमले विद्यार्थी मात्र होइन, शिक्षकका लागि पनि दोहोरो सिकाइको अवसर निर्माण गर्ने धारणा राखिन्। उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कक्षा बाहिरको यस्तो पहलले सिकाइलाई अझ अर्थपूर्ण बनाएको टिप्पणी गरे।
विद्यालयका संस्थापक प्रिन्सिपल ताराकुमार प्रसाईंले परियोजनामुखी सिकाइ बिना शिक्षा अपूर्ण रहने बताउँदै प्रदर्शनीलाई सिकाइ उपलब्धिको महत्वपूर्ण आधारका रूपमा लिएको स्पष्ट पारखे। उनले विद्यार्थीले विद्यालयमा सिकेको ज्ञानलाई दैनन्दिन जीवनमा प्रयोग गर्न सक्ने नवीन उपाय पहिचान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।
शिक्षा शाखा प्रमुख तीलचन भण्डारीले प्रदर्शनीले पाठ्यवस्तुलाई प्रयोगात्मक रूपमा देखाएर घोकन्ते पद्धतिबाट अभ्यासमुखी शिक्षातर्फको रूपान्तरणलाई सुदृढ पारेको मूल्यांकन गरे। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले यसलाई प्रेरणादायी अभ्यास भन्दै परियोजनामुखी सिकाइ विश्वव्यापी रूपमा आवश्यक बन्दै गएको बताए।
विद्यार्थीले नवीकरणीय ऊर्जा, पानी शुद्धीकरण, भूकम्प प्रतिरोधी संरचना, गणितीय समस्या समाधान, भाषा अभिव्यक्ति तथा सांस्कृतिक विषयवस्तुहरु व्यवहारिक प्रस्तुति मार्फत प्रदर्शन गरेका थिए। प्रदर्शनीमा ११ वटा विद्यालयका विद्यार्थी सहभागी भए भने नगरका अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकले पनि अवलोकन गरेका थिए। उत्कृष्ट पाँच परियोजनालाई विद्यालयले पुरस्कृत गरेको प्रिन्सिपल प्रसाईंले जनाए।
बेल्स मोडल स्कूलमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ। विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकबीचको प्रत्यक्ष अन्तरक्रियाबाट सम्पन्न प्रदर्शनीलाई सहभागीहरूले ‘साझा सिकाइको उत्सव’का रूपमा व्याख्या गरेका छन्।

_LM3JxwnbqC.jpg)
प्रतिक्रिया