शून्यबाट शिखरसम्म: सुरुमा २५ हजार पनि गाह्रो, अहिले विश्वबजारमा सय करोडको माग

बुधबार, ०९ पुस २०८२

झापा : आठ वर्षअघि बिर्तामोड–५, मंगल एकता टोल निवासी दुर्गादेवी रिजालले पाँच लाख रुपैयाँ लगानी गरेर पूजा सामग्री उद्योग सुरु गरिन् । 

घर खर्च चलाउन हम्मे–हम्मे परिरहेका दिनमा उनले उद्यमी बन्ने सपना बोकेर लाखबत्ती बनाउने मेसिनमा लगानी गरिन् । तर, सुरुका दिनहरू सजिला थिएनन् । बजारमा आफ्नो उत्पादन पु¥याउँदा बिक्री नभएपछि निराशा र पीडाले उनका आँखा रसाएका थिए । 

त्यो समय सम्झँदा अझै आँखा रसाउँछ– उनी भन्छिन्– ‘नरसाउन् पनि किन, आफू स्वयम् खटिएर उत्पादन गरेको बात्ती बिक्री नभएपछि मनमा परेको चोट अझै ताजै छ ।’ तर, दुर्गादेवीले हार मानिनन् । उनले आफ्नो श्रीमान् मधुसुधन रिजालको साथ लिएर उद्योगमा समर्पित भइन् । 

दुःख, असफलता र चुनौतीले उनलाई रोक्न सकेन । दिन–रात मेहनत, निरन्तर अभ्यास र नवीनताको खोजीपछि उनको उद्योगले उत्पादन गरेको सामग्रीले बिस्तारै बजार पाउन थाल्यो ।

आज दुर्गादेवीको उद्योगले देशभरिका पूजा पसलहरू मात्र होइन, विदेशमा बस्ने नेपाली समुदायसम्म आफ्नो उत्पादन पु¥याएको छ । लाखौँलाख लाखबत्ती, हजारौँ व्रतबन्ध पोसाक, चँदुवा, काँचो धागो, धार्मिक झण्डा, जनै, बाटेको धुप, फूलबत्ती लगायतका सामग्री तयार पारेर देश विदेशमा आफ्नो उत्पादन पु¥याउन दुर्गादेवी सफल भएकी छिन् । 

दुर्गादेवीको सपना पूरा गर्न श्रीमान् मधुसुधनले साथ दिए । मेसिन सञ्चालन, डिजाइन तयारी र बिक्री व्यवस्थापनमा उनले पनि सहयोग पु¥याए । दुर्गादेवी भन्छिन्– ‘श्रीमानको प्रेरणा र साथ बिना म यो उद्योग सञ्चालन गर्न सक्दिन थिएँ होला तर परिवारको समर्थन पाइयो भने हामी महिलाहरूले जस्तोसुकै चुनौती पार गर्न सक्ने रहेछौं ।’ 

दुर्गादेवीको उद्योगले वार्षिक करिब १२ करोडभन्दा बढी बात्ती उत्पादन गर्दै बिक्री गर्छ । एक लाखबात्तीको तौल करिब ४ केजी हुन्छ भने काँचो धागोको उत्पादन चार टनभन्दा बढी हुन्छ  । 

व्रतबन्ध पोसाक र चँदुवा ५ हजारभन्दा बढी थान उत्पादन हुँदै बिक्री हुने गरेको छ । पर्याप्त मात्रामा जनै, बाटेको धुप, धार्मिक झण्डा बिक्री हुँदै आएको दुर्गादेवीले बताइन् । उनीसँग पाथीभरा मातालाई चढाउने झण्डाको डिजाइन गर्ने क्षमता पनि छ । यसको डिजाइन श्रीमान् मधुसुधनले गरेका थिए । यो झण्डाको डिजाइन तयार गरेसँगै अन्य झण्डाहरुको उत्पादनमा मार्ग प्रशस्त भयो । 

बात्ती बनाउने मेसिनको कालीगढ भारतबाट ल्याइएको भए पनि, मेसिन सञ्चालन र निर्माणको प्रक्रिया निकै चुनौतीपूर्ण थियो ।  श्रीमान् मधुसुधनले निरन्तर ६ महिना प्रयास गरे तर सफलता नपाएपछि भारतको आग्राबाट सहयोग लिएर मेसिन तयार पारियो । जुन मेसिनले दुर्गादेवीको सफल उद्यमी बन्ने सपना पूरा गरेको छ । 

दुर्गादेवीका लागि उद्योगको उद्देश्य केवल उत्पादन र बिक्री मात्र होइन, सामाजिक जिम्मेवारी र प्रेरणा पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।

 पाँच जनालाई रोजगार दिन पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । हामी केवल उद्योग चलाउँदैनौँ, अरूलाई पनि स्वरोजगार बन्न प्रेरित गर्छौँ– उनले भनिन्– हिजो आफूले दुःख पाएको र सङ्घर्ष सम्झिएर अरूलाई पनि उद्यमी बन्न प्रेरित गर्ने गरेकी छु । 

lakha batti

उद्योग सुरु गर्दा बजारमा २५ हजार बात्ती बेच्न पनि चुनौतीपूर्ण थियो । अहिले भने माग अत्यधिक बढेको छ उनले भनिन्– धरानको लक्ष्मी पूजा पसलले सुरुमा २५ हजार बात्ती खरिद गरेको थियो, पछि एकै पटक दुई लाख बात्ती माग्दा आफूले रातदिन मेहनत गरेर बात्ती तयार पारेका थियौँ । 

त्यो दिनको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ–उनले भनिन्– दुई लाख बात्ती बिक्री भएको दिन माई भगवतीलाई ढोगेर यही व्यवसायमा लाग्ने अठोट लिएँ । 

कोरोना महामारीको समयमा अधिकांश व्यापार ठप्प भए पनि दुर्गादेवीको उद्योग निरन्तर चलिरह्यो । त्यो समयमा धेरै मानिसको मृत्यु भयो तर, हामीले उद्योग बन्द गरेनौँ– उनले भनिन्– हामीले उत्पादनलाई निरन्तरता दियौ । यसले उद्योगलाई मात्र होइन, समाजलाई पनि सहयोग पुग्यो । 

कोराना सकिएपछि धेरै मानिसको वार्षिकी आयो, धेरैलाई लाखबत्ती आवश्यक प¥यो । त्यो बेला बजारमा लाखबत्ती कमी थियो । हामीले त्यही समय धेरै बात्ती बेच्न सफल भयौँ । 

अहिले दुर्गादेवीको उद्योगद्वारा उत्पादित सामान नेपालका विभिन्न जिल्लासँगै भारतमा रहेका नेपाली भाषी समुदाय, खाडी मुलुक र युरोपसम्म पुग्ने गरेको छ । 

पश्चिम नेपालका पहाडी जिल्लाहरू बाजुरा र डडेलधुरामा समेत उनका ग्राहक छन् । लाखबात्तीको माग बढेसँगै अहिले आफूले पाँच करोड बात्ती भण्डारण गरेर राखेको उनी बताउँछिन् । 

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले पनि उनको उद्योगलाई नयाँ आयाम दिएको छ । फेसबुक र टिकटकमार्फत गरेको बिक्री र प्रचारले देश–विदेशमा ग्राहक थपेको छ । दुर्गादेवी भन्छिन्– ‘सोसल मिडियाले हाम्रो उत्पादनलाई विश्वव्यापी बनाएको छ ।

 माघदेखि असारसम्म मुख्य बिक्री अवधि हो । त्यस समयमा हामीले उत्पादनमा कुनै कमी राख्दैनौँ ।’ ‘उद्यमशीलता भनेको अवसरको पहिचान र लगनशीलता हो’– उनी भन्छिन्– ‘मानिसमा यदि इच्छाशक्ति जागृत हुने हो भने गर्न सकिने रहेछ । उद्यमी बनौँ, लक्ष्मी (धन) कमाउन कहीँ जानु पर्दैन ।’ दुर्गादेवीको कथा केवल उद्योग र आम्दानीको कथा होइन । 

यो महिलाको आत्मविश्वास, लगनशीलता र सामाजिक योगदानको कथा हो । उनले घर र उद्योग दुवै सम्हालेकी छिन् । समाजमा महिला उद्यमशीलताको दृष्टान्त बनेकी छिन् । उनको प्रेरणा धेरै महिला र बेरोजगार युवतीका लागि मार्गदर्शन बनेको छ । आज दुर्गादेवी रिजालको उद्योगले एक सय करोड बात्ती बनाउने काममा अग्रसरता लिएको छ । 

सुनसरीको बराह क्षेत्रमा आयोजना गरिने सय करोड बात्ती बाल्ने कार्यका लागि उनको उद्योगले बात्ती बनाउन सुरु गरेको छ । विगतका दिन स्मरण गर्दै उनी भन्छिन्– सुरुमा उद्योग चलाउँदा सोच्थेँ २५ हजार बात्ती बेच्न पनि कठिन छ । आज एक सय करोडको माग हुँदा उद्योगले न्याय पाएको महसुस गरेकी छु । यो केवल मेरो सफलताको कथा होइन, समाजका अन्य महिला उद्यमीका लागि पनि प्रेरणा हो ।’

 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार