रुकुम पश्चिम : रुकुम पश्चिमको स्यालाखाँदीबाट मुसिकोटतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप शुक्रवार साँझ करिब ६ बजे दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएका छन्।
दुर्घटनाग्रस्त जिप सडकबाट झन्डै ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू त्रिवेणी गाउँपालिकाको सिमरूटस्थित चर्चको मण्डलीमा सहभागी भएर घर फर्किँदै गर्दा जिप दुर्घटना भएको थियो।
दुर्घटनामा मृत्यु भएका सात जनामध्ये ६ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
मृतकहरूमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट–२ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट–१५ की दिलमाया बुढा, आठबिसकोट–१५ की १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक र २२ वर्षीय गोपाल वली छन्। एक मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।
आठबिसकोट नगरपालिका–२ का वडाध्यक्ष देवबहादुर ऐरीका अनुसार सबै जना मण्डलीमा गएर फर्किरहेका क्रिश्चियन धर्मावलम्बीहरू हुन् र उक्त घटनाले वडावासी नै स्तब्ध बनेका छन्।
उनका अनुसार अर्को जिपमा वडाका अन्य सर्वसाधारणहरू पनि मण्डलीमा सहभागी हुन गएका थिए। दुर्घटनामा परेको जिपमा भित्र १९ जना र छतमा ६ जनजाति सवार रहेको वडाध्यक्ष ऐरीले बताए।
छतमा बसेकाहरूले भिरमा हाम फालेर ज्यान जोगाउन सफल भएको पनि उनले जानकारी दिए।
दुर्घटनामा परेको जिप स्थानीय प्रेम ऐरीको हो। उनका अर्को जिपका चालक भुवन कुसारीका अनुसार उकालो उक्लिँदै गर्दा ढुङ्गामा ठोक्किएर जिपको मेनपट्टा भाँचिएपछि जिप पछाडि सरेर सडकबाट तल खसेको हो।
‘उकालो निकै ठाडो थियो। ढुङ्गामा पट्टा भाँचिएपछि जिप ब्याक भएर खस्यो,’ भुवनले भने। ‘दुर्घटनाको खबर पाउँदा हामी अर्को गाडी लिएर घटनास्थल पुग्यौँ। पाँच जना घाइतेलाई मैले अस्पताल पुर्याएँ।’
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
उनले अहिले आफू अस्पतालतिर जाँदै गरेको र विस्तृत विवरण अनुसन्धानपछि खुल्ने बताए। प्रहरी निरीक्षक पुनका अनुसार घाइते १० जनाको पनि परिचय खुल्न बाँकी छ। सबै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको छ।
प्रतिक्रिया