डीआइजी रनिङ कप फुटबलः दिल्ली पब्लिक स्कुल विराटनगर र प्रभात सेकेण्डरी धरान विजयी

शुक्रबार, ११ पुस २०८२

धरान : कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणअन्तर्गत आज शुक्रबार सम्पन्न खेलमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभात सेकेण्डरी इङ्लिस बोडिङ् स्कुल धरान विजयी भएका छन्।

शुक्रबार भएको पहिलो खेलमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगरले बाल्मिकी एजुकेशन फाउण्डेसन विर्तामोड, झापालाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। खेलको निर्णायक गोल दिल्ली पब्लिक स्कुल मोरङका अमन खवासले गरेका थिए। उनले खेलको पहिलो हाफको २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका अमन खवास ‘म्यान अफ दि म्याच’ घोषित भए। उनलाई नगद रु।एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

photo 2

यस्तै, दोस्रो खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोडिङ् स्कुल धरानले सैनिक आवासीय महाविद्यालय धरानलाई २–० गोलले पराजित गर्दै विजयी भएको छ। प्रभात स्कुलका भूवन भण्डारीले दुवै गोल गरेका थिए। उनले खेलको पहिलो हाफको १५औँ मिनेट र इन्जुरी समयमा एक–एक गोल गर्दै ‘म्यान अफ दि म्याच’ घोषित भए। म्यान अफ दि म्याच घोषित खेलाडीलाई प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले पुरस्कार प्रदान गरेका थिए।

कोशी प्रदेशका १६ वटा  टिमको सहभागीतामा पौष ९ गतेबाट सुरु भएको प्रतियोगिता १९ गतेसम्म सन्चालन हुनेछ  ।

प्रतियोगिताअन्तर्गत भोलि शनिबारको पहिलो खेल आदर्श इङ्लिस स्कुल मोरङ र सिद्धार्थ सेकेण्डरी स्कुल मोरङबीच हुने छ भने दोस्रो खेल दी माउन्ट हर्मन एकेडेमी धरान र सफल सिद्धार्थ एकेडेमी मोरङबीच हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार