माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच एकता सहमति, ६ महिनाभित्र महाधिवेशन

आइतबार, १६ कार्तिक २०८२

काठमाडौं : नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वटा वामदलबीच एकता सहमति भएको छ। शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकपछि १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

सहमति अनुसार, नयाँ एकीकृत पार्टीको प्रारम्भिक संरचनामा संयोजक र सह–संयोजक गरी दुई प्रमुख पद रहनेछन्। साथै, आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरी एकीकृत पार्टीको स्थायी नेतृत्व चयन गरिने उल्लेख गरिएको छ।

माओवादी केन्द्रले माओवादी विचार परित्याग गरी माक्र्सवाद–लेनिनवादलाई नयाँ पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्ने सहमति गरेको छ। तर, पार्टीको नाम भने अहिले तय भएको छैन। पाँचकुने तारा चिन्हलाई भने साझा चुनावचिन्हका रूपमा प्रस्ताव गरिएको छ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

यसअघि, एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले शुक्रबार माओवादी केन्द्रसहितका वामदलहरूसँग एकता प्रक्रियामा अघि बढ्ने निर्णय गरेको थियो। त्यसै निर्णयको निरन्तरता स्वरूप शनिबार माओवादी केन्द्रले पनि औपचारिक रूपमा एकता प्रस्ताव पारित गर्दै हस्ताक्षर गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार