काठमाडौँ : शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने घोषणा गरेको नेपाल नर्सिङ सङ्घले आफूले उठाएका सबै माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सङ्घले नर्सका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारी पाँचौँ तह बराबरको तलब दिनेलगायत सहमति भएको पनि यसबाहेकका बुँदामा आन्दोलनरत पक्षको आपत्ति रहेको जनाएको छ ।
आन्दोलनरत नर्स र सङ्घबीच आज बसेको आकस्मिक छलफलले आन्दोलनका कार्यक्रम पूर्वयोजनाअनुसार जारी राख्दै ४८ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिइएको सङ्घकी महासचिव डा देवकाकुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माग सम्बोधन नभएमा सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेक सम्पूर्ण नर्सिङ सेवा देशव्यापी ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ ।
यद्यपि, आइतबार नै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत नर्सिङ सङ्घ, अफिन एवं निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिबीच सहमति भएको भन्दै सहमतिका मुख्य बुँदा सार्वजनिक गरेको छ ।
असन्तुष्ट नर्सका सन्दर्भमा समितिले एक महिनाभित्र आपसी छलफलका माध्यमबाट दीर्घकालीन समाधान हुने गरी सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । “आफ्नो काममा फर्किनुहुन र सहमति कार्यान्वयन गर्न सक्रिय योगदानसहित पृष्ठपोषण गर्नुहुने अनुरोध गर्दछौँ,” मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया