बेलबारीका जनप्रतिनिधिको ‘नौटंकी’ : आन्दोलनमा डराएर राजीनामा, लाज पचाएरै पुनः कुर्सीमा

सोमबार, १७ कार्तिक २०८२

बेलबारी : जेनजी आन्दोलनको राप ताप रहँदै गर्दा सामाजिक सञ्जालमा राजीनामा लेख्दै ‘हामी जनताको आवाजसँगै छौ’ भन्ने जनप्रतिनिधिहरू एक महिनाभित्रै फेरि कुर्सीमा फर्किएका छन् ।

जनआन्दोलन शान्त हुँदै जाँदा ती प्रतिनिधिहरू अब जिम्मेवारीमा फर्किन हतारिएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा लगायत अधिकांश वडाध्यक्षले फेसबुकमै राजीनामा घोषणा गरेका थिए । तर राजीनामा स्वीकृत नभएपछि उनीहरू “जनताको दबाब” भन्दै कुर्सीमा फर्किएका हुन् ।

वडा नम्बर ३ का अध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले त कार्यपालिका बैठकमै औपचारिक राजीनामा दिएका थिए । तर, पत्र स्वीकृत नहुँदै उनले पनि पुनः जिम्मेवारी सम्हालेका छन् । “पार्टी र मतदाताको आग्रहमा फर्किएको हुँ,” भन्ने उनीहरूको साझा जवाफ छ ।

belbari

तर, नगरबासीहरू भने यसलाई “राजनीतिक नौटङ्की” भन्दै कडा आलोचना गरिरहेका छन् । उनीहरूको भनाइमा, “जिम्मेवारी छोड्ने र फर्किने नाटक गरेर जनताको ध्यान विचलित गर्ने काम भएको छ ।”

चार वर्षमा गर्व गर्नलायक काम छैन

निर्वाचनको चार वर्ष पुग्न लाग्दा बेलबारीका जनप्रतिनिधिहरूले देखाउने गरी कुनै उपलब्धि दिन सकेका छैनन् । अघिल्लो कार्यकालमा सुरु भएका बेलबारी सपिङ कम्प्लेक्स, रमिते भ्यू टावर, र चिस्यान केन्द्रजस्ता योजनाहरू अझै अधुरै छन् ।

१ करोड ३२ लाख रुपैयाँ खर्चेर ल्याइएका विद्युतिय नगरबसहरू भने ६ महिनादेखि पार्किङमै थन्किएका छन् । 

नगरबासीहरूको आरोप छ — “कामभन्दा पनि रिबन काट्ने र अनुगमन फोटो खिचाउने जनप्रतिनिधिको रोजगारी भएको छ ।”

त्यसमाथि, कोशी प्रदेश सरकारद्वारा बेलबारीमा ल्याइएको प्रदेश प्रहरी अस्पताल व्यवस्थापन गर्न नसक्दा इनरुवा सारिनु बेलबारीको असफलता बनेको छ ।

भ्रष्टाचार र हिसाब–किताब लुकाउने विवाद

नगरपालिकाभित्र भ्रष्टाचार र मिलेमतोको आरोप नयाँ होइन । उपप्रमुख नितु थापाले लेखा प्रमुख धनमाया राईमाथि “हिसाब हेर्न नदिएको” आरोप लगाएकी थिइन् ।

सोही विवाद अहिले पनि अन्तिम निष्कर्षमा पुगेको छैन । नगरप्रमुख राई र नगरबासीबीच यसै विषयमा भएको घम्साघम्सी केही महिनाअघि निकै चर्चित भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि बेलबारीका कर्मचारी र जनप्रतिनिधिहरूविरुद्ध भ्रष्टाचार मुद्धा विचाराधीन छ ।

जेनजी आन्दोलन र दुई करोडभन्दा बढीको क्षति

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा बेलबारी नगरपालिका, वडा नं २, ६, ९ र ११ का कार्यालयहरूमा आगजनी र तोडफोड भएको थियो । 

belbari 3

नगरपालिकाको प्रारम्भिक विवरण अनुसार, अढाई करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

उपप्रमुख नितु थापाले क्षति भएका संरचना पुनर्निर्माणका लागि तयारी थालिएको बताएकी छिन् ।
 

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार