विराटनगरमा स्कुटर दुर्घटनामा घाइते भएका १८ वर्षीय निखिलको उपचारका क्रममा मृत्यु

मंगलबार, १८ कार्तिक २०८२

विराटनगर । मोरङको विराटनगरमा भएको स्कुटर दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मोरङको विराटनगर महानगरपालिका–१० रोडशेषस्थित स्वागतम होटेल नजिक कोशी लोकमार्गमा गत असोज ३० गते राति करिब १२:०५ बजे दुर्घटना भएको थियो। रोडशेषबाट रानीतर्फ जाँदै गरेको प्र१–०४–००२प०२३१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका थिए।

दुर्घटनामा स्कुटर चालक विराटनगर–१४ बस्ने १८ वर्षीय निखिल साहको हात र टाउकोमा चोट लागेको थियो। उनको अवस्था मध्यम रहेको बताइएको थियो। त्यस्तै, स्कुटरमा पछाडि सवार विराटनगर–१५ बस्ने २५ वर्षीय विकास चौधरीको निधारमा चोट लागेको थियो भने अर्का सवार विराटनगर–१ का १८ वर्षीय समीर शर्माको बायाँ खुट्टा भाँचिएको थियो।

तीनै जना घाइतेलाई तत्काल उपचारका लागि न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। तर, चालक निखिल साहको उपचारका क्रममा आज (कात्तिक १८ गते) बिहान ४:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उक्त दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो। इलाका प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब निरीक्षक देवान हुसेनको कमान्डमा गएको टोलीले दुर्घटनाग्रस्त स्कुटर नियन्त्रणमा लिएर कार्यालयमा राखेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार